मंगलबार ६ असोज २०८३
राजनीति

एमालेमा फेरि चर्कियो नेतृत्व परिवर्तनको मुद्दा, दोस्रो–तेस्रो पुस्ता सक्रिय बन्दै

सोमबार असोज ५, २०८३/ Monday 09-21-26

काठमाडौँ — नेकपा एमालेभित्र नेतृत्व पुनर्गठन र पुस्तान्तरणको विषय फेरि चर्किएको छ। कार्यदलले तयार पारेको प्रतिवेदनमा पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्व परिवर्तनसम्बन्धी बहस समेट्न अनिच्छुक देखिए पनि केन्द्रीय कमिटी बैठकमा नेताहरूले यो विषयलाई प्राथमिकताका साथ उठाउने तयारी गरेका छन्।

एमालेमा पछिल्लो राजनीतिक परिस्थितिअनुसार पार्टीको नेतृत्व र संगठनमा पुनर्गठन आवश्यक रहेको आवाज विभिन्न तहबाट उठ्दै आएको छ। प्रदेश तथा जिल्ला तहबाट आएका सुझावमा समेत नेतृत्व पुस्तान्तरणको विषय समेटिएको नेताहरूले बताएका छन्।

कार्यदलले तयार पारेको प्रतिवेदनमा नेतृत्व पुनर्गठनको विषय नराखी अन्य विषय समेटिएको छ। उपमहासचिव लेखराज भट्टका अनुसार प्रदेश र जिल्लाबाट आएका सुझावलाई भने प्रतिवेदनको अनुसूचीमा समेटिएको छ। नेतृत्व परिवर्तनको विषय विवादित रहेकाले मूल प्रतिवेदनमा नराखिएको उनको भनाइ छ।

पार्टी सचिव पद्मा अर्यालले हालै महाधिवेशन सम्पन्न भइसकेकाले तत्काल नेतृत्व परिवर्तनको बहस अघि बढाउने उपयुक्त समय नभएको बताएकी छन्। उनका अनुसार कार्यदलका विभिन्न प्रतिवेदनलाई एकीकृत गरी एउटै प्रतिवेदन केन्द्रीय कमिटीमा प्रस्तुत गरिनेछ।

तर, केही नेताहरूले प्रतिवेदनमा विषय नसमेटिए पनि केन्द्रीय कमिटी बैठकमा नेतृत्व पुनर्गठनको मुद्दा उठाउने बताएका छन्। उनीहरूका अनुसार पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीभित्र देखिएको असन्तुष्टिलाई ध्यानमा राख्दै नेतृत्व पुस्तान्तरणको बहसलाई रोक्न कठिन छ।

एमालेभित्र अध्यक्ष ओलीको विकल्पका रूपमा विभिन्न नामसमेत चर्चामा आएका छन्। यद्यपि युवा नेताहरूले दोस्रो वा तेस्रो पुस्ताबाट नेतृत्व अघि बढाउनुपर्ने धारणा राख्दै आएका छन्।

यसैबीच, एमालेले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक बोलाउने तयारीसमेत गरेको छ। पार्टी विधानअनुसार परिषद् बैठक बोलाउन सकिने व्यवस्था रहेकाले केन्द्रीय कमिटीबाट आवश्यक प्रक्रिया अघि बढाइने बताइएको छ।

एमाले नेताहरूका अनुसार अब बस्ने केन्द्रीय कमिटी बैठक नेतृत्व पुनर्गठन, पुस्तान्तरण र संगठनात्मक सुधारसम्बन्धी बहसका दृष्टिले महत्वपूर्ण बन्न सक्नेछ। 

 

तपाईको प्रतिक्रिया