भोटेकोसी बाढी : पराजुलीको नेतृत्वमा १५ सदस्यीय संसदीय समिति बनाइयो
काठमाडौं । भोटेकोसी बाढीबारे छानबिन तथा अध्ययनका लागि १५ सदस्यीय संसदीय समिति गठन गर्ने निर्णय भएको छ।
सोमबार बिहान बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका उपनेता गणेश पराजुलीको सभापतित्वमा समिति गठन गर्ने निर्णय गरेको हो।
निर्णयअनुसार समितिमा रास्वपाबाट आठ जना सदस्य रहनेछन्। त्यस्तै, नेपाली कांग्रेस र नेकपा एमालेबाट दुई–दुई जना तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा), श्रम संस्कृति र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट एक–एक जना सदस्य रहनेछन्।
समितिको कार्यक्षेत्र (टीओआर) र सदस्यहरूको औपचारिक घोषणा सोमबार नै गरिने तयारी छ। यसबीच प्रतिनिधिसभाको बैठक जारी रहेको छ।
गत भदौ ११ गते बसेको सर्वदलीय बैठकले भोटेकोसी बाढीसम्बन्धी विषयमा संसदीय समिति गठन गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार समिति गठनको प्रक्रिया अघि बढाइएको हो।
तपाईको प्रतिक्रिया