काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा उठिरहेको पुनर्गठनको बहस आफूलाई अध्यक्ष पदबाट हटाउने उद्देश्यसँग जोडिएको दाबी गरेका छन्। उनले पार्टीको नेतृत्व परिवर्तन आवश्यक भए पनि त्यसका लागि निश्चित विधि, समय, तयारी र परिपक्वता आवश्यक पर्ने बताएका छन्।
सोमबारदेखि सुरु भएको एमाले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा ओलीले केही नेताहरूले आफूलाई विस्थापित गर्ने उद्देश्यले पुनर्गठनको मुद्दा अघि सारेको उल्लेख गरेका छन्। उनका अनुसार पार्टी पुनर्गठन सामान्य इच्छा वा तत्कालीन राजनीतिक चाहनाका आधारमा गरिने विषय होइन।
ओलीले वर्तमान अवस्थामा एमाले पुनर्गठनको औचित्यमाथि समेत प्रश्न उठाएका छन्। अहिले चलाइएको पुनर्गठनसम्बन्धी बहस पार्टीको आवश्यकता, समयसन्दर्भ र परिस्थितिसँग मेल नखाने उनको तर्क छ।
यद्यपि, ओलीले एमालेमा परिवर्तन आवश्यक रहेको स्वीकार गरेका छन्। उनले रूपान्तरण, नेतृत्व हस्तान्तरण र पुस्तान्तरणलाई पार्टीको पुनर्जागरणका आधारका रूपमा अघि सारेका छन्। तर परिवर्तनका नाममा पार्टीको इतिहास, विचार, संघर्ष र संगठनात्मक परम्परालाई कमजोर बनाउन नहुने उनको भनाइ छ।
नेतृत्व हस्तान्तरणलाई आफूले अस्वीकार नगरेको स्पष्ट पार्दै ओलीले नेतृत्व कुनै व्यक्तिको निजी सम्पत्ति नभएको बताएका छन्। आफूले पनि सधैँ नेतृत्वमा रहने सोच नराखेको उल्लेख गर्दै उनले नेतृत्व परिवर्तनका लागि उचित प्रक्रिया र तयारी हुनुपर्नेमा जोड दिएका छन्।
उनले नेतृत्व हस्तान्तरणलाई खेतीसँग तुलना गर्दै समय नपुग्दै परिणाम खोज्दा समस्या उत्पन्न हुने बताएका छन्। उनका अनुसार नेतृत्व केवल घोषणा, दाबी वा महत्वाकांक्षाबाट तयार हुँदैन; संघर्ष, जिम्मेवारी र अनुभवबाट नेतृत्व विकास हुन्छ।
ओलीले आफू नयाँ नेतृत्वको विरोधमा नभई विधिविहीन र अव्यवस्थित ढंगले नेतृत्व परिवर्तन गर्ने प्रयासको विपक्षमा रहेको बताएका छन्। नेतृत्व पद प्राप्त गर्ने चाहनाभन्दा क्षमता, जिम्मेवारी, धैर्य र त्यागसँग जोडिनुपर्ने उनको तर्क छ।
पार्टीको कठिन अवस्थामा भूमिका निर्वाह नगरेका नेताहरूले भविष्यमा पार्टीको नेतृत्व लिन कति तयारी गरेका छन् भन्ने प्रश्न पनि उनले उठाएका छन्। पुस्तान्तरणलाई नारामा सीमित नराखी संस्थागत प्रणालीमार्फत अघि बढाउनुपर्ने उनको भनाइ छ।
ओलीले युवा नेतृत्व विकासका लागि प्रत्येक तहमा योजनाबद्ध जिम्मेवारी र प्रशिक्षण आवश्यक रहेको बताएका छन्। नेतृत्व विकास केवल कोटा वा घोषणाबाट नभई जिम्मेवारी प्रदान गरेर हुनुपर्ने उनले उल्लेख गरेका छन्।
उनका अनुसार एमालेमा नेतृत्व हस्तान्तरण अवश्य हुन्छ, तर त्यसलाई पार्टीभित्र अनिश्चितता र अस्थिरता सिर्जना हुने गरी अघि बढाउनु हुँदैन। सम्मान, विधि, तयारी, प्रशिक्षण, जिम्मेवारी र संगठनात्मक अनुशासनलाई आधार बनाएर नेतृत्व परिवर्तन गर्नुपर्ने ओलीको धारणा छ।
तपाईको प्रतिक्रिया