मंगलबार ६ असोज २०८३
राजनीति

त्रिपुरेश्वर बस आगलागी प्रकरण : छानबिन गर्न समिति गठन

सोमबार असोज ५, २०८३/ Monday 09-21-26

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि बसमा भएको आगलागी घटनाको छानबिन गर्न प्रहरीले समिति गठन गरेको छ। घटनामा ट्राफिक प्रहरीको भूमिकासमेत जोडिएपछि उपत्यका प्रहरी कार्यालय रानीपोखरीले घटनाको वास्तविकता पत्ता लगाउन छानबिन समिति गठन गरेको हो।

ऋद्धिसिद्धी यातायातको बसमा आगलागी हुनुअघि चालक दावा लामा र ट्राफिक प्रहरीबीच भनाभन भएको देखिने भिडियो सार्वजनिक भएपछि घटनाबारे विभिन्न प्रश्न उठेका थिए। त्यसपछि प्रहरी नेतृत्वले घटनाको सम्पूर्ण पक्ष अध्ययन गर्न समिति गठन गरेको हो।

एसएसपी रमेश बस्नेतको संयोजकत्वमा गठन गरिएको समितिलाई पाँच दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ। समितिले बस चालक र ट्राफिक प्रहरीबीच भएको विवाद, त्यसपछि विकसित घटनाक्रम तथा बसमा आगलागी भएको अवस्थाबारे विस्तृत अध्ययन गर्नेछ।

आगलागीमा परेका बस चालक दावा लामाको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था चिन्ताजनक रहेको बताइएको छ।

यस घटनाले सार्वजनिक यातायातका चालक र ट्राफिक प्रहरीबीच हुने विवाद, सेवाग्राहीसँगको व्यवहार तथा विवाद समाधानका प्रक्रियाबारे समेत थप बहस सिर्जना गरेको छ।

 

तपाईको प्रतिक्रिया