बुधबार ७ असोज २०८३
राजनीति

परराष्ट्रमन्त्री खनाल र भुटानी प्रधानमन्त्री तोब्गेबीच भेटवार्ता

मंगलबार असोज ६, २०८३/ Tuesday 09-22-26

काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनाल र भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेबीच अमेरिकाको न्युयोर्कमा भेटवार्ता भएको छ।

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुने क्रममा भएको भेटमा भुटानी प्रधानमन्त्री तोब्गेले नेपालमा हालै आएको बाढीबाट भएको मानवीय क्षति र विनाशप्रति दुःख व्यक्त गर्दै विपद्को यस कठिन घडीमा भुटान नेपालको साथमा रहेको बताएका छन्। उनले बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनःस्थापना छिट्टै अघि बढ्ने विश्वाससमेत व्यक्त गरेका छन्।

भेटमा परराष्ट्रमन्त्री खनालले नेपाललाई भुटानले दिएको सहयोग र ऐक्यबद्धताप्रति धन्यवाद व्यक्त गरेका थिए।

त्यस क्रममा नेपाल र भुटानबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने तथा व्यापार, उड्डयनलगायत पारस्परिक हितका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा पनि छलफल भएको थियो।

यसैबीच, परराष्ट्रमन्त्री खनालले युरोपेली संघकी कार्यकारी उपाध्यक्ष टेरेसा रिबेरासँग पनि भेटवार्ता गरेका छन्। न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भएको भेटमा नेपाल–युरोपेली संघ साझेदारीका विभिन्न पक्षबारे छलफल भएको उनको सचिवालयले जनाएको छ।

भेटमा परराष्ट्रमन्त्री खनालले भोटेकोशी बाढीपछि नेपालको कठिन परिस्थितिप्रति संवेदना र ऐक्यबद्धता व्यक्त गरेकोमा रिबेराप्रति आभार व्यक्त गरेका थिए। दुवै पक्षले नेपाल र युरोपेली संघबीचको सहकार्यलाई थप गहिरो बनाउने प्रतिबद्धता दोहोर्‍याएका छन्।

 

तपाईको प्रतिक्रिया