चालकले ‘लाश हुन्छु’ भन्दा प्रहरी किन संवेदनशील भएन? : सांसद दुलाल
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले त्रिपुरेश्वरमा भएको बस आगजनी घटनाको सत्यतथ्य पत्ता लगाउन उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्न सरकारसँग माग गरेका छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद दुलालले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने बताए।
उनले ट्राफिक प्रहरीसँगको विवादका क्रममा चालकले आफूलाई दबाब दिइए ज्यान गुमाउन सक्ने चेतावनी दिएको विषयमा समेत प्रहरीले संवेदनशीलता नदेखाएको दाबी गरे। घटनामा ट्राफिक प्रहरी, नेपाल प्रहरी र सरकारको भूमिकाबारे गृहमन्त्रीले स्पष्ट जवाफ दिनुपर्ने उनको माग थियो।
दुलालले घटना एक जना चालकको आवेगमा मात्र सीमित नभएको उल्लेख गर्दै बेरोजगारी, अस्थिर रोजगारी र राज्य प्रणालीप्रति नागरिकमा बढेको निराशासँग समेत जोडेर हेर्नुपर्ने बताए।
उनले ठूला सवारीसाधनको चालक अनुमतिपत्र लिन साना सवारीको लाइसेन्स अनिवार्य गर्नुपर्ने हालको व्यवस्था पुनरावलोकन गर्न पनि माग गरे। ट्राफिक प्रहरी तथा नियमनकारी निकायलाई मर्यादित र अनुशासित बनाउनुपर्ने उनको भनाइ थियो।
तपाईको प्रतिक्रिया