नेपाल टेलिकमद्वारा भदौमा १३ स्थानमा नयाँ टेलिफोन टावर जडान
काठमाडौं । नेपाल टेलिकमले मोबाइल सेवा विस्तार तथा गुणस्तर सुधार गर्ने उद्देश्यले गत भदौ महिनामा देशका विभिन्न ११ जिल्लाका १३ स्थानमा नयाँ टूजी र फोरजी मोबाइल साइट सञ्चालनमा ल्याएको छ।
नेपाल टेलिकमका प्रवक्ता डा. कमल लामिछानेका अनुसार मोबाइल तथा डेटा सेवाको पहुँच विस्तार गर्न आवश्यक देखिएका स्थानमा नयाँ साइट थप गरिएको हो।
बागमती प्रदेशअन्तर्गत ललितपुरका दुई स्थानमा नयाँ मोबाइल साइट सञ्चालनमा आएका छन्। ललितपुर महानगरपालिका–३ स्थित कार्यालय क्षेत्र र च्याउन्डाँडामा साइट थप गरिएको टेलिकमले जनाएको छ। यस्तै, चितवनको मोहनपुरमा पनि नयाँ मोबाइल साइट सञ्चालन गरिएको छ।
गण्डकी प्रदेशमा नवलपुरको पोखरीडाँडा र लमजुङको मध्यनेपालमा नयाँ साइट स्थापना गरिएको छ।
यसैगरी, लुम्बिनी प्रदेशअन्तर्गत कपिलवस्तुको धर्मपानी तथा पाल्पाको रामपुर र होङ्सीमा मोबाइल साइट सञ्चालनमा आएका छन्।
कर्णाली प्रदेशमा जुम्लाको कनकासुन्दरी र सुर्खेत–जुम्लारोड क्षेत्रमा नयाँ साइट थप गरिएको छ। सुदूरपश्चिम प्रदेशअन्तर्गत बाजुराको बडिमालिका, डडेल्धुराको गाङ्खेत र दार्चुलाको रिठाचौपाटामा पनि नयाँ मोबाइल साइट सञ्चालनमा ल्याइएको टेलिकमले जनाएको छ।
नयाँ साइट सञ्चालन भएपछि सम्बन्धित क्षेत्रका बासिन्दाले मोबाइल तथा डेटा सेवामा थप पहुँच पाउने र सेवाको गुणस्तरमा समेत सुधार हुने टेलिकमको अपेक्षा छ।
टेलिकमले दूरसञ्चार सेवाको पहुँच कम भएका तथा थप सेवा विस्तार आवश्यक रहेका क्षेत्रमा आगामी दिनमा पनि क्रमशः नयाँ मोबाइल साइट थप गर्दै जाने जनाएको छ।
तपाईको प्रतिक्रिया