काठमाडौँ । देशका पूर्वी तथा मध्य भूभागमा वर्षाको गतिविधि बढ्ने भएको छ। मनसुनी वायुको प्रभावसँगै बंगालको खाडीमा विकसित मौसमी प्रणालीको असर नेपालमा देखिन थालेको मौसमविद्हरूले बताएका छन्।
हाल काठमाडौँ उपत्यकासहित चितवन, रसुवा, मकवानपुर, गोरखा र सिन्धुपाल्चोकलगायतका क्षेत्रमा हल्का वर्षा भइरहेको छ। आगामी दिनमा वर्षाको गतिविधि थप बढ्ने पूर्वानुमान गरिएको छ।
शुक्रबारदेखि आइतबारसम्म देशका धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनसक्ने सम्भावना रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनसक्ने तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुनसक्ने जनाइएको छ।
हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना रहेकाले पर्वतारोहण तथा हिमाली क्षेत्रमा हुने गतिविधिमा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।
सम्भावित भारी वर्षाका कारण बाढी, पहिरो र डुबानको जोखिम बढ्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा सतर्कता अपनाउन सम्बन्धित निकायले आग्रह गरेका छन्। रातको समयमा अनावश्यक यात्रा नगर्न तथा सम्भावित जोखिमबाट बच्न आवश्यक सावधानी अपनाउन पनि अनुरोध गरिएको छ।
तपाईको प्रतिक्रिया