इन्द्रजात्रा सुरु, हनुमानढोकामा ठड्याइयो इन्द्रध्वजसहितको लिङ्गो
काठमाडौं । काठमाडौंको प्रमुख सांस्कृतिक पर्व इन्द्रजात्रा बुधबारदेखि औपचारिक रूपमा सुरु भएको छ। जात्राको सुरुवातसँगै हनुमानढोका दरबार क्षेत्रस्थित कालभैरव मन्दिरअगाडि विधिपूर्वक इन्द्रध्वजसहितको लिङ्गो ठड्याइएको छ।
लिङ्गो ठड्याउने क्रममा परम्परागत बाजागाजासहित धार्मिक विधि र पूजाआजा सम्पन्न गरिएको थियो। लिङ्गो उठाउने कार्यसँगै इन्द्रजात्राका विभिन्न सांस्कृतिक तथा धार्मिक कार्यक्रम अघि बढ्ने परम्परा छ।
इन्द्रजात्रा काठमाडौं उपत्यकाको नेवार समुदायको महत्वपूर्ण सांस्कृतिक पर्वका रूपमा मनाइन्छ। जात्राका क्रममा इन्द्र, भैरव, गणेश र कुमारीको पूजा तथा रथयात्रा गरिन्छ।
हनुमानढोकाबाट कुमारी, गणेश र भैरवको रथ काठमाडौंका विभिन्न टोलमा परिक्रमा गराउने परम्परा रहेको छ। यस्तै लाखे नाच, पुलुकिसी नाचलगायत विभिन्न सांस्कृतिक प्रस्तुति पनि जात्राका प्रमुख आकर्षण हुन्।
इन्द्रजात्रा सुरु भएसँगै हनुमानढोका तथा बसन्तपुर क्षेत्रमा चहलपहल बढेको छ। जात्रा अवलोकन गर्न स्थानीयवासीसँगै स्वदेशी तथा विदेशी पर्यटकसमेत बसन्तपुर क्षेत्रमा पुगेका छन्।
तपाईको प्रतिक्रिया