बिहीबार ८ असोज २०८३
राजनीति

राप्रपाले असोज २१ गते सातै प्रदेशको अधिवेशन गर्ने

बुधबार असोज ७, २०८३/ Wednesday 09-23-26

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सातै प्रदेशको अधिवेशन आगामी असोज २१ गते एकैदिन गर्ने भएको छ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार प्रदेश अधिवेशनका लागि पार्टीले सबै प्रदेशमा केन्द्रीय निर्वाचन प्रतिनिधि समेत खटाइसकेको छ। उनका अनुसार कोसी प्रदेशमा भरत पाठक, मधेशमा राजाराम श्रेष्ठ, बागमतीमा प्रा.डा. जयन्तनाथ खनाल, गण्डकीमा अमृत पुडासैनी, लुम्बिनीमा तोरणबहादुर गुरुङ, कर्णालीमा रमानन्द न्यौपाने र सुदूरपश्चिममा श्यामबहादुर शाहीलाई निर्वाचन प्रतिनिधिका रूपमा जिम्मेवारी दिइएको छ।

राप्रपाले आगामी मंसिर २६ देखि २८ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने कार्यतालिका यसअघि नै तय गरिसकेको छ। महाधिवेशनको तयारीअन्तर्गत पार्टीले स्थानीय तह र अधिकांश जिल्लाको अधिवेशन सम्पन्न गरिसकेको जनाएको छ।

तर जुम्ला र धनकुटामा भने जिल्ला अधिवेशन हुन बाँकी छ। भोटेकोसीमा आएको बाढीका कारण रसुवा, नुवाकोट र धादिङमा पनि अधिवेशन सम्पन्न हुन सकेको छैन।

राप्रपाले बाँकी रहेका पाँचवटै जिल्लाको अधिवेशन असोज १५ गतेभित्र सम्पन्न गर्ने समयसीमा तोकेको छ। त्यसपछि असोज २१ गते सातै प्रदेशमा अधिवेशन गर्ने तयारी गरिएको हो।

तपाईको प्रतिक्रिया