शुक्रबार ९ असोज २०८३
अर्थ

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो

बिहीबार असोज ८, २०८३/ Thursday 09-24-26

काठमाडौँ । नेपालको कुल सार्वजनिक ऋण दायित्व २९ खर्ब ७३ अर्ब पाँच करोड ९२ लाख रुपैयाँ पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत भदौ मसान्तसम्मको यो ऋण मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को ४५ प्रतिशतभन्दा बढी हो।

कुल ऋणमध्ये आन्तरिकतर्फ १३ खर्ब ६१ अर्ब ८७ लाख रुपैयाँ र बाह्यतर्फ १६ खर्ब ११ अर्ब १८ करोड ८३ लाख रुपैयाँ दायित्व रहेको कार्यालयले जनाएको छ। जिडिपीको अनुपातमा आन्तरिक ऋण २० दशमलव ६३ प्रतिशत र बाह्य ऋण २४ दशमलव ४१ प्रतिशत रहेको छ।

चालु आर्थिक वर्षमा सरकारले ६ खर्ब ५८ अर्ब २८ करोड रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य लिएको छ। भदौ मसान्तसम्ममा भने लक्ष्यको ९ दशमलव २८ प्रतिशत अर्थात् ६१ अर्ब पाँच करोड रुपैयाँ ऋण प्राप्त भइसकेको छ।

सरकारले चालु आवमा आन्तरिकतर्फ चार खर्ब १० अर्ब र बाह्यतर्फ दुई खर्ब ४८ अर्ब २८ लाख रुपैयाँ ऋण उठाउने योजना बनाएको छ। यसमध्ये भदौ मसान्तसम्म आन्तरिक ऋणबाट ५० अर्ब र बाह्य ऋणबाट ११ अर्ब पाँच करोड रुपैयाँ प्राप्त भएको छ।

यसैबीच, सरकारले सार्वजनिक ऋणको साँवा तथा ब्याज भुक्तानीमा पनि ठूलो रकम खर्च गरेको छ। चालु आर्थिक वर्षमा ऋणको साँवा र ब्याज तिर्न चार खर्ब १७ अर्ब ८८ करोड रुपैयाँ बजेट छुट्याइएको छ। भदौ मसान्तसम्ममा उक्त रकममध्ये ८५ अर्ब एक करोड छ लाख रुपैयाँ भुक्तानी भइसकेको छ, जुन कुल विनियोजित बजेटको २० दशमलव ३४ प्रतिशत हो।

कार्यालयका अनुसार भदौ मसान्तसम्मको कुल ऋण सेवा खर्च मुलुकको कुल गार्हस्थ्य उत्पादनको १ दशमलव २९ प्रतिशत बराबर रहेको छ।

तपाईको प्रतिक्रिया