शुक्रबार ९ असोज २०८३
राजनीति

एमाले नेतृत्वमा ११ वर्षपछि विद्या भण्डारीको पुनरागमन

बिहीबार असोज ८, २०८३/ Thursday 09-24-26

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको सक्रिय राजनीतिमा पुनः नेतृत्वदायी भूमिकासहित फर्किने बाटो खुलेको छ।

एमाले सचिवालय बैठकले भण्डारीलाई पार्टीको वरिष्ठ नेताका रूपमा अघि बढाउने प्रस्ताव गरेको छ। उक्त प्रस्ताव अब केन्द्रीय कमिटीबाट अनुमोदन हुनुपर्नेछ। प्रस्ताव पारित भएमा उनी पार्टी अध्यक्ष केपी शर्मा ओलीपछि दोस्रो वरीयतामा रहनेछिन्।

राष्ट्रपति निर्वाचित भएपछि २०७२ सालमा भण्डारीले पार्टीको सक्रिय जिम्मेवारीबाट अलग भएकी थिइन्। त्यसयता करिब ११ वर्षपछि उनी पुनः एमालेको नेतृत्व तहमा फर्किन लागेकी हुन्।

भण्डारीले यसअघि नै एमालेको सदस्यता नवीकरण गरेर पार्टी राजनीतिमा फर्कने इच्छा व्यक्त गरेकी थिइन्। उनको सदस्यता नवीकरणको विषयलाई लिएर एमालेभित्र विवादसमेत भएको थियो।

एमालेभित्र पछिल्लो समय संगठन पुनर्गठन र नेतृत्वबारे बहस तीव्र भइरहेका बेला भण्डारीलाई सक्रिय भूमिकामा फर्काउने प्रस्ताव अघि सारिएको हो।

भण्डारी यसअघि एमालेकी उपाध्यक्षसमेत भइसकेकी छन्। अनेमसंघको नेतृत्व हुँदै उनी मन्त्री र पार्टी उपाध्यक्षको जिम्मेवारीमा पुगेकी थिइन्। २०७२ सालमा राष्ट्रपति बनेपछि भने उनले पार्टीको औपचारिक राजनीतिबाट अलग भएकी थिइन्।

 

तपाईको प्रतिक्रिया