काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको नारा र लोगो सार्वजनिक गरेको छ।
कांग्रेसले बिहीबार सामाजिक सञ्जालमार्फत महाधिवेशनको नारा सार्वजनिक गरेको हो। महाधिवेशनको नारा ‘परम्पराको सम्मान, परिवर्तनको सङ्कल्प, समुन्नत नेपालका लागि सबल कांग्रेस अबको विकल्प’ तय गरिएको छ।
महाधिवेशनको लोगोमा कांग्रेसका संस्थापक तथा विभिन्न समयका शीर्ष नेताहरू बीपी कोइराला, सुवर्णशमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र शेरबहादुर देउवाको तस्बिर समावेश गरिएको छ।
कांग्रेसको १५औँ महाधिवेशन आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौंको खुलामञ्चमा आयोजना गर्ने कार्यतालिका छ।
यसैबीच पूर्वसभापति शेरबहादुर देउवा पक्षले समानान्तर महाधिवेशनको तयारी अघि बढाएको छ। उक्त समूहले ७६ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ।
पूर्वमहामन्त्री डा. शशाङ्क कोइरालाको संयोजकत्वमा गठित महाधिवेशन आयोजक समितिले असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गर्ने र मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ।
तपाईको प्रतिक्रिया