चार प्रदेशका तराई क्षेत्रमा आज राति पनि हावाहुरीको सम्भावना
काठमाडौं । मधेशदेखि लुम्बिनी प्रदेशसम्मका तराई क्षेत्रमा शनिबार दिउँसोदेखि तीव्र हावाहुरी चलिरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति पनि ती क्षेत्रमा हावाको गति बढ्न सक्ने सम्भावना छ।
महाशाखाले मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागमा ठूलो हावा चलिरहेको जनाएको छ। भारतको उत्तर प्रदेश आसपास विकसित न्यूनचापीय प्रणालीको प्रभावका कारण मौसममा यस्तो परिवर्तन आएको हो।
मौसमविद् सञ्जिव अधिकारीका अनुसार मधेश र लुम्बिनी क्षेत्रमा हावाको गति तुलनात्मक रूपमा बढी छ। भैरहवामा हावाको गति प्रतिघण्टा ६० किलोमिटरसम्म मापन गरिएको उनले बताएका छन्।
न्यूनचापीय प्रणाली पश्चिमतर्फ सर्दै गएकाले आगामी दिनमा सुदूरपश्चिममा पनि हावाको गति बढ्न सक्ने अनुमान गरिएको छ। हावाहुरीसँगै वर्षाको गतिविधि पनि बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
पछिल्लो १२ घण्टामा सुदूरपश्चिमका विभिन्न क्षेत्रमा उल्लेख्य वर्षा भएको छ। कञ्चनपुरको दोधारामा ६४.६, सुन्दरपुरमा ५६.६ र हनुमान नगरमा ५१.४ मिलिमिटर वर्षा मापन भएको छ। डडेल्धुराको अमरगढी आसपास ६६ मिलिमिटर वर्षा भएको छ।
तपाईको प्रतिक्रिया