नारायणी नदीमा बाढीको जोखिम बढ्यो, गण्डक ब्यारेजका ३६ वटै ढोका खुला
काठमाडौं । नारायणी नदीको जलसतह सतर्कता तहभन्दा माथि पुगेपछि बाढीको जोखिम बढेको छ। नदीमा पानीको बहाव निरन्तर बढिरहेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।
नारायणी बेसिन कार्यालय चितवनका अनुसार नदीको जलसतह ८ दशमलव ३० मिटर पुगेको छ। नदीमा ७ दशमलव ३० मिटरलाई सतर्कता तह र ९ मिटरलाई खतरा तह मानिन्छ।
कार्यालयका प्रमुख सुमित अधिकारीले पुनः वर्षा भएमा नदीको जलसतह खतरा तहसम्म पुग्न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन आग्रह गरेका छन्। हालसम्म नदी किनारका बस्तीमा पानी पसिनसकेको जनाइएको छ।
नवलपुरका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले नदी किनारमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा रहन आग्रह गरिएको बताएका छन्। सम्भावित विपद्को सामना गर्न सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको र सूचना तथा पूर्वतयारीका काम भइरहेको उनले जानकारी दिएका छन्।
यसैबीच, नवलपुरको त्रिवेणीस्थित गण्डक ब्यारेजका ३६ वटै ढोका खोलिएको छ। नारायणी नदीको बहाव चेतावनी तह पार गरेपछि शुक्रबार रातिदेखि ब्यारेजका सबै ढोका खोलिएको हो।
गण्डक ब्यारेजमा पानीको बहाव ३ लाख ४ सय क्युसेक पुगेको जनाइएको छ। ब्यारेजमा ३ लाख क्युसेक पानीको बहावलाई चेतावनी तह मानिन्छ।
बाढीका कारण नेपाल र भारततर्फ जाने दुवै नहरमा पानीको प्रवाह पूर्ण रूपमा बन्द गरिएको छ। ब्यारेजको माथिल्लो भागमा पानीको सतह ३५९ दशमलव २ फिट र तल्लो भागमा ३५७ दशमलव ६ फिट पुगेको जनाइएको छ।
नदीमा आएको बाढीका कारण सुस्ताका केही क्षेत्रमा डुबान भएको छ। प्रभावितलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको प्रशासनले जनाएको छ।
उता, कालीगण्डकी नदीमा बाढी र पहिरोको जोखिममा रहेका नवलपुरका बौदीकाली र बुलिङटार क्षेत्रका बासिन्दालाई पनि सुरक्षित स्थानमा राख्ने तयारी गरिएको छ। सम्भावित उद्धार तथा राहतका लागि सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको प्रशासनले जनाएको छ।
तपाईको प्रतिक्रिया