आइतबार ११ असोज २०८३
समाज

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा गाडी चलाउन रोक

शनिबार असोज १०, २०८३/ Saturday 09-26-26

काठमाडौँ । लगातारको वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढेपछि सुदूरपश्चिम प्रदेशका सातवटै पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

कैलाली र कञ्चनपुरबाहेक प्रदेशका सात पहाडी जिल्लामा शनिबार बिहान ७ बजेदेखि आइतबार बिहान ७ बजेसम्म छोटो तथा लामो दूरीका कुनै पनि सवारीसाधन सञ्चालन गर्न नपाइने निर्णय गरिएको हो।

जोखिमलाई ध्यानमा राख्दै ट्राफिक प्रहरीले जानकारी नपाई पहाडी जिल्लातर्फ गएका सवारीसाधनलाई बीच बाटोबाटै फर्काएको जनाएको छ।

लगातारको वर्षासँगै बाढी र पहिरोका कारण देशका विभिन्न स्थानमा सडक यातायात प्रभावित भएको छ। राजधानी काठमाडौँ जोड्ने पृथ्वी राजमार्गसहित विभिन्न प्रमुख राजमार्गका केही खण्डमा पहिरो तथा बाढीका कारण आवागमन अवरुद्ध भएको छ।

बीपी राजमार्ग, कान्ति राजमार्ग, मध्यपहाडी लोकमार्ग, कर्णाली राजमार्ग, सिद्धिचरण राजमार्ग, तमोर करिडोर र राप्ती राजमार्गका विभिन्न खण्डसमेत प्रभावित भएका छन्। अवरुद्ध सडक खुलाउन पहिरो पन्छाउने तथा मर्मतको काम भइरहेको छ।

प्रशासनले बाढी तथा पहिरोको जोखिम अझै कायम रहेकाले अत्यावश्यक कामबाहेक यात्रा नगर्न र उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

 

तपाईको प्रतिक्रिया