मंगलबार १३ असोज २०८३
समाज

बागलुङमा पहिरोले १० जनाको मृत्यु, तनहुँमा २४ घरमा क्षति

सोमबार असोज १२, २०८३/ Monday 09-28-26

बागलुङ । अविरल वर्षासँगै आएको पहिरोका कारण बागलुङमा पछिल्लो दुई दिनमा १० जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्।

आइतबार मात्रै तमानखोला र निसीखोला गाउँपालिकामा पहिरोमा परी नौ जनाको मृत्यु भएको छ। शनिबार ताराखोला गाउँपालिकामा घर पुरिँदा एक जनाको मृत्यु भएको थियो।

तमानखोला गाउँपालिका–३ धर्नासुकमा पहिरोले घर पुरिँदा ८० वर्षीय बुद्धिराज घर्ती र ६६ वर्षीया भीमदेवी घर्तीको मृत्यु भएको छ। सोही स्थानमा पहिरोले आठ घर बगाएको छ।

तमानखोला–४ सन्तरमा पहिरोले घर पुरिँदा ५० वर्षीय हस्तवीर श्रीपाली र ६५ वर्षीया उडिसरा श्रीपालीको मृत्यु भएको छ। हस्तवीरकी श्रीमती भने बेपत्ता रहेको जनाइएको छ।

त्यस्तै, निसीखोला गाउँपालिका–३ जुग्जाखोलाको हदधारामा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ३६ वर्षीया श्यामकुमारी विक तथा उनका छोराहरू १३ वर्षीय मनोज, आठ वर्षीय मुकेश र तीन वर्षीय निशान रहेका छन्।

निसीखोला–६ रङ्गिलमा गोठ पुरिँदा ५० वर्षीय सूर्यबहादुर घर्तीको पनि मृत्यु भएको छ।

प्रभावित क्षेत्रमा सुरक्षाकर्मीको टोली परिचालन गरी उद्धार तथा राहतको काम भइरहेको छ। पहिरोका कारण विभिन्न स्थानमा भौतिक संरचनामा समेत क्षति पुगेको छ।

तनहुँमा २४ घरमा क्षति

लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण तनहुँका विभिन्न स्थानीय तहमा २४ घरमा क्षति पुगेको छ।

व्यास नगरपालिकामा पाँच, म्याग्देमा दुई, घिरिङमा छ, ऋषिङमा दुई, बन्दीपुरमा चार र भानु नगरपालिकामा पाँच घरमा क्षति पुगेको छ।

क्षति पुगेका घरका परिवारलाई प्रहरीले सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ। व्यास–१ स्थित राइस मिलमा पहिरोका कारण क्षति पुग्दा धानसमेत भिजेको छ।

भिमाद–६ मालेबगरमा कुखुराफार्म र बंगुरको खोर बगाएको छ। यस्तै, देवघाट गाउँपालिका–५ स्थित सीता गुफा परिसरमा कालीगण्डकी नदीको बाढीले शौचालय, बाथरुम तथा १०८ शिवलिङ्गसहितको ओमकार मूर्ति बगाएको छ।

बाढी तथा पहिरो प्रभावित क्षेत्रमा उद्धार, क्षतिको विवरण संकलन र राहत वितरणको काम जारी रहेको प्रहरीले जनाएको छ।

 

तपाईको प्रतिक्रिया