आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची
काठमाडौं । सङ्घीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने कार्यतालिका छ।
प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
त्यस्तै, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले सम्बन्धित केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८३ प्रस्तुत गर्नेछिन्।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको बिक्री तथा वितरण नियन्त्रणसम्बन्धी पहिलो संशोधन विधेयक प्रस्तुत गर्ने कार्यसूची छ। उनले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी पहिलो संशोधन विधेयक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी दोस्रो संशोधन विधेयक र रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक पनि प्रस्तुत गर्ने तयारी छ।
यसैगरी, राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे बस्नेछ। बैठकमा प्रधानमन्त्री शाहले प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्ने कार्यसूची रहेको छ।
तपाईको प्रतिक्रिया