पूर्वप्रधानन्यायाधीशको पक्राउबारे राष्ट्रिय सभामा मागियो प्रधानमन्त्री र गृहमन्त्रीको जवाफ
काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य आनन्दप्रसाद ढुंगानाले वर्तमान सरकारको कार्यशैलीप्रति गम्भीर प्रश्न उठाउँदै सरकार निरंकुशतातर्फ अघि बढेको आरोप लगाएका छन्।
सोमबार राष्ट्रिय सभा बैठकमा बोल्दै ढुंगानाले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बिनापुर्जी र मध्यरातमा पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाए। उनले उक्त घटनालाई पञ्चायतकालमा हुने गरेको गिरफ्तारीसँग तुलना गर्दै लोकतान्त्रिक व्यवस्थामा यस्ता गतिविधि हुनु चिन्ताजनक भएको बताए।
ढुंगानाले सरकारले कानुनी शासन र संवैधानिक दायित्वको पालना गर्नुपर्नेमा त्यसको उपहास भइरहेको दाबी गरे। पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारीलगायत पछिल्ला घटनाबारे प्रधानमन्त्री र गृहमन्त्रीले संसद्मा स्पष्ट जवाफ दिनुपर्ने उनको माग थियो।
सरकारले सुशासनको नारा दिए पनि व्यवहारमा भने हुकुमी शासनको शैली अपनाउन खोजेको आरोप लगाउँदै उनले संसद् र जनताप्रति सरकार जवाफदेही हुनुपर्ने बताए। दुई तिहाइको बलमा सरकारले स्वेच्छाचारी निर्णय गर्न नहुने उनको भनाइ थियो।
बाढी तथा अन्य प्राकृतिक विपद्बाट प्रभावित नागरिकको अवस्थाबारे समेत सरकारले पर्याप्त चासो नदेखाएको ढुंगानाले गुनासो गरे। राष्ट्रिय सभा बैठकको ‘जिरो आवर’मा सांसदहरूले उठाएका विषयको समेत सरकारले सुनुवाइ नगरेको उनको आरोप थियो।
ढुंगानाले भने, “हिजो पञ्चायतकालमा सिभिल ड्रेसमा आएर बिना जानकारी गिरफ्तारी हुन्थ्यो, आज लोकतन्त्रमा पनि त्यस्तै अवस्था देखिनु चिन्ताजनक छ।”
उनले लोकतन्त्र र संविधानको संरक्षणका लागि जनता तथा युवा पुस्ता आवश्यक परे बलिदान दिनसमेत तयार रहेको बताए। सरकार आफ्नो कार्यशैली सुधार नगरी निरंकुशतातर्फ अघि बढिरहे देश गम्भीर संकटमा फस्न सक्ने चेतावनी दिँदै उनले सरकारलाई सचेत हुन आग्रह गरे।
तपाईको प्रतिक्रिया