मंगलबार १३ असोज २०८३
राजनीति

संसदीय विशेष समितिको सभापति चयन असोज १४ गते हुने

सोमबार असोज १२, २०८३/ Monday 09-28-26

काठमाडौं । हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली क्षेत्रमा बढ्दो विपद्को जोखिमबारे अध्ययन गर्न गठित संसदीय विशेष समितिको सभापति चयनका लागि निर्वाचनको मिति तोकिएको छ।

प्रतिनिधि सभाको सोमबार बसेको बैठकमा सभामुख डोलप्रसाद अर्यालले आगामी असोज १४ गते समितिको सभापति चयनका लागि निर्वाचन हुने जानकारी दिएका हुन्।

सभामुख अर्यालका अनुसार प्रतिनिधि सभा नियमावली, २०८३ को नियम १७६ को उपनियम (१) बमोजिम असोज १४ गते दिउँसो २ बजे सभापति चयन प्रक्रिया अघि बढाइनेछ।

हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण देखिएका असर तथा भोटेकोशी र त्रिशूली नदी आसपासका बस्तीमा बढिरहेको विपद् जोखिमको अध्ययन र मूल्यांकन गर्न विशेष समिति गठन गरिएको हो।

जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा उत्पन्न समस्या तथा जलवायु न्यायका विषयमा नेपालले अन्तर्राष्ट्रिय तहमा समेत आवाज उठाउँदै आएको छ। यस्तो अवस्थामा संसदीय विशेष समितिले गर्ने अध्ययन, अनुसन्धान र त्यसका आधारमा दिने सुझावलाई महत्वपूर्ण रूपमा हेरिएको छ।

तपाईको प्रतिक्रिया