मनाङ । मनाङको हिम्लुङ हिमालमा गएको हिमपहिरोमा परी सम्पर्कविहीन भएका १४ जनाको खोजी सोमबार बिहानैदेखि जारी छ।
मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार बेपत्ताको खोजीका लागि हेलिकप्टरमार्फत तीन जनाको टोली परिचालन गरिएको छ।
हिमपहिरोमा परेर २७ जना सम्पर्कविहीन भएका थिए। तीमध्ये ११ जना आफैँ हिँडेर फु गाउँ आइपुगेपछि सम्पर्कमा आएका छन्। दुई जनाको शव फेला परिसकेको छ भने १४ जना अझै सम्पर्कविहीन छन्।
फेला परेका शव काठमाडौं पठाउने तयारी भइरहेको छ। खोजी तथा उद्धारका लागि अनुभवी गाइडहरू समेत परिचालन गरिएको छ।
मौसम खुलेका कारण सोमबारको खोजी कार्य सहज हुने अपेक्षा गरिएको अधिकारीहरूले बताएका छन्। नापाभूमि गाउँपालिका–५ मा पर्ने ७ हजार १२६ मिटर अग्लो हिम्लुङ हिमालमा आइतबार हिमपहिरो गएको थियो।
तपाईको प्रतिक्रिया