काठमाडौं । प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसदहरूले पछिल्लो वर्षासँगै आएको बाढीपहिरोका कारण देशका विभिन्न क्षेत्रमा सडक, पुल तथा अन्य भौतिक संरचनामा ठूलो क्षति पुगेको भन्दै तत्काल उद्धार, राहत, पुनर्स्थापना तथा सडक यातायात सञ्चालनका लागि सरकारको ध्यानाकर्षण गराएका छन्।
सांसदहरूले विशेषगरी मध्यपहाडी राजमार्ग र कालीगण्डकी कोरिडोर क्षेत्रमा बाढीपहिरोबाट सडक तथा पुलमा क्षति पुगेकाले अवरुद्ध यातायात तत्काल सञ्चालनमा ल्याउन माग गरेका छन्। उनीहरूले प्रभावित क्षेत्रमा क्षतिको मूल्यांकन गरी दीर्घकालीन समाधानका लागि आवश्यक पूर्वाधार निर्माणमा समेत जोड दिएका छन्।
सांसद पद्यकुमारी अर्यालले यसअघि रसुवामा आएको बाढीको असर कम नहुँदै पुनः वर्षासँगै बाढीपहिरोको जोखिम बढेको बताउँदै प्रभावित परिवारको उद्धार, राहत र पुनर्स्थापनालाई प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरिन्। कालीगण्डकी नदीको तटीय क्षेत्रमा सडक, पुल र निजी सम्पत्तिमा क्षति पुगेको भन्दै उनले तत्काल खोज तथा उद्धार र राहतको व्यवस्था गर्न माग गरिन्।
सांसद युवराज दुलालले देशका विभिन्न बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत तथा पुनर्स्थापनाको काम अघि बढाउन सरकारको ध्यानाकर्षण गराए। उनले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पक्राउ तथा रिहाइका विषयमा समेत सरकारको धारणा माग गरे।
सांसद ऐनबहादुर महरले वर्तमान सरकार गठन भएयता राजनीतिक नेतृत्वदेखि न्यायाधीशसम्मलाई पक्राउ तथा अपमान गर्ने जस्ता गतिविधि भएको दाबी गर्दै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सरकारको ध्यानाकर्षण गराए।
सांसद सुशील खड्काले पछिल्लो वर्षाका कारण मध्यपहाडी राजमार्ग र कालीगण्डकी कोरिडोर क्षेत्र बढी प्रभावित भएको उल्लेख गर्दै क्षतिग्रस्त सडक तथा पुलको निर्माण र मर्मत तत्काल अघि बढाउन माग गरे। जलवायु परिवर्तनका कारण विपद्का घटना बढिरहेको भन्दै उनले राज्यले पूर्वतयारी र सतर्कता बढाउनुपर्ने बताए।
सांसद बलावती शर्माले बाढीपहिरोका कारण बागलुङ र कास्की जोड्ने सडक तथा पुललगायत संरचनामा क्षति पुगेपछि सदरमुकामसँग स्थानीय तहको सडक सम्पर्क प्रभावित भएको बताइन्। उनले प्रभावित नागरिकका लागि उचित राहत तथा पुनर्स्थापनाको व्यवस्था गर्न आग्रह गरिन्।
सांसद ध्रुवराज राईले प्रधानमन्त्रीले विगतमा जस्तै संसदमा उपस्थित भएर जवाफ दिने कार्यसूची पुनः राख्न सदन र सरकारको ध्यानाकर्षण गराए। सांसद भरत गिरीले चाडपर्वको समयमा सार्वजनिक यातायातको टिकटमा चलखेल गरी भाडा बढाउने प्रयास हुन सक्ने भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए।
सांसद सोम शर्माले बागलुङका बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी आवश्यक खोज तथा उद्धारमा सक्रियता देखाउन सरकारसँग आग्रह गरे। सांसद समिना मियाँले चितवनका विभिन्न स्थानमा नारायणी नदीको कटान बढेको भन्दै तत्काल आवश्यक कदम चाल्न माग गरिन्।
सांसद मनिष खनालले नारायणी नदीको बहाव बढ्दा सुस्ता क्षेत्रमा डुबानको प्रभाव परेको भन्दै प्रभावितका लागि तत्काल राहतको व्यवस्था गर्न र दीर्घकालीन समाधान खोज्न सरकारको ध्यानाकर्षण गराए।
सांसद टेकबहादुर गुरुङले पछिल्लो बाढीका कारण मनाङका विभिन्न संरचनामा क्षति पुगेको बताउँदै तत्काल खोज, उद्धार र राहतको व्यवस्था गर्न माग गरे। बेँसीसहर–चामे सडकखण्डमा पहिरोका कारण यातायात अवरुद्ध भएको भन्दै उनले सडक तत्काल सञ्चालन गर्ने वातावरण बनाउन आग्रह गरे।
सांसद भरतप्रसाद पराजुलीले लगातारको वर्षा र बाढीपहिरोका कारण मुस्ताङको कोरला नाका बन्द हुँदा चीनसँगको व्यापार प्रभावित भएको बताए। उनले नाका सञ्चालनका लागि आवश्यक पहल गर्न सरकारको ध्यानाकर्षण गराए।
सांसद क्षितिज थेबेले ताप्लेजुङको दोभान बजारमा भएको आगलागीमा १० घर पूर्ण रूपमा जलेर करिब १५ करोड रुपैयाँ बराबरको क्षति भएको जानकारी गराए। सांसद टुकाभद्र हमालले अविरल वर्षाका कारण नागरिकको जनजीवन प्रभावित भएको भन्दै आवश्यक राहत र व्यवस्थापनमा ध्यान दिन सरकारसँग आग्रह गरे।
सांसद राजकिशोर महतोले प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघमा गरेको सम्बोधनले नेपालको सम्मान उच्च भएको बताए। सांसद श्रीराम न्यौपानेले भोटेकोशी बाढीको विषयमा प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय मञ्चमा उठाएको विषयले नेपालको गौरव बढाएको धारणा राखे।
सांसद माधवबहादुर थापाले बाढीका कारण पाल्पाको ऐतिहासिक रानीमहल क्षेत्र प्रभावित भएको विषयमा सरकारको ध्यानाकर्षण गराए। सांसद शुलभ खरेलले तिनाउ नदीमा आएको बाढीले आसपासका क्षेत्रमा ठूलो क्षति पुर्याएको भन्दै प्रभावित नागरिकको तत्काल उद्धार, राहत र पुनर्स्थापनाको व्यवस्था गर्न माग गरे।
सांसद ठाकुरसिंह थारूले लगातारको वर्षाका कारण बर्दियाको गुलरिया नगरपालिकामा २५ घरमा क्षति पुगेको भन्दै प्रभावित परिवारका लागि आवश्यक राहतको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए।
सांसद बुद्धरत्न महर्जनले पछिल्लो बाढीपहिरोका कारण ललितपुरका अधिकांश सडक प्रभावित भएको बताउँदै टेलिफोन नेटवर्कसमेत पटक–पटक अवरुद्ध हुने समस्या देखिएको जानकारी गराए। उनले सडक तथा सञ्चार सेवा सहज बनाउन तत्काल आवश्यक पहल गर्न सरकारको ध्यानाकर्षण गराए।
तपाईको प्रतिक्रिया