बुधबार १४ असोज २०८३
राजनीति

भारतीय राजदूतले प्रधानमन्त्रीसँग गरे बिदाइ भेट

मंगलबार असोज १३, २०८३/ Tuesday 09-29-26

काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग बिदाइ भेट गरेका छन्। मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा दुई देशबीचको सम्बन्ध र आपसी सहकार्यका विषयमा कुराकानी भएको थियो।

आफ्नो कार्यकाल पूरा गरी भारत फर्कन लागेका राजदूत श्रीवास्तवलाई प्रधानमन्त्री शाहले कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई तथा आगामी दिनका लागि शुभकामना दिएका थिए।

भेटका क्रममा प्रधानमन्त्री शाहले नेपाल र भारतबीचको सम्बन्ध लामो समयदेखि मैत्रीपूर्ण र घनिष्ठ रहँदै आएको उल्लेख गरे। साथै, नेपालमा पछिल्लो समय आएको बाढीपहिरोलगायत विपद्का समयमा भारत सरकारले गरेको सहयोगप्रति उनले धन्यवाद व्यक्त गरे।

राजदूत श्रीवास्तवले आफ्नो कार्यकालका क्रममा नेपाल र भारतबीच विभिन्न विकास आयोजनाहरू अघि बढेको तथा केही परियोजना सम्पन्न भएको जानकारी गराएका थिए। उनले नेपालमा रहँदा सरकार तथा नेपाली नागरिकबाट प्राप्त सहयोग र सद्भावप्रति आभार व्यक्त गरे।

तपाईको प्रतिक्रिया