काठमाडौँ । हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको प्रभाव तथा हालैको भोटेकोशी–त्रिशूली विपद्बारे अध्ययन गर्न गठन गरिएको संसदीय विशेष समितिको सभापतिका लागि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले उम्मेदवारी दर्ता गराएका छन्।
रास्वपाको निर्णयअनुसार पराजुलीले मंगलबार संघीय संसद् सचिवालयमा उम्मेदवारी दर्ता गराएको सचिवालयले जनाएको छ। उनको उम्मेदवारीलाई सांसद मोहन आचार्यले प्रस्ताव गरेका छन् भने पुष्पराज कँडेल, रमेशकुमार मल्ल, ध्रुवराज राई, सरस्वती लामा र निशा डाँगी समर्थक रहेका छन्।
समिति सभापति चयनका लागि बुधबार निर्वाचन हुने तय भएको छ। सभामुख डोलप्रसाद अर्यालले सोमबार बसेको प्रतिनिधिसभा बैठकमा निर्वाचनको मिति र समय निर्धारण गर्दै बुधबार दिउँसो २ बजे निर्वाचन हुने जानकारी दिएका थिए। पराजुलीको उम्मेदवारीमा विभिन्न दलका सांसदहरूको समर्थन रहेकाले उनी सर्वसम्मत चयन हुने सम्भावना रहेको छ।
भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीपछि उत्पन्न परिस्थितिको अध्ययन तथा समीक्षा गर्न प्रतिनिधिसभाले असोज ५ गते १५ सदस्यीय विशेष समिति गठन गरेको थियो। समितिको कार्यकाल तीन महिनाको तोकिएको छ।
समितिमा अच्युत लामिछाने, अनुष्का श्रेष्ठ, गंगादेवी श्रेष्ठ, गणेश पराजुली, धनञ्जय रेग्मी, ध्रुवराज राई, निशा डाँगी, पुष्पराज कँडेल, मोहन आचार्य, मिङमाग्याबु शेर्पा, रमेशकुमार मल्ल, रवीन्द्र पटेल, सरस्वती लामा, सुजाता तामाङ र सिता थपलिया सदस्य छन्।
समितिलाई हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव, तापक्रममा भइरहेको परिवर्तन, हिमनदी, हिमताल तथा जलाधार क्षेत्रमा देखिएका बदलाव र त्यसबाट उत्पन्न जोखिमको अध्ययन गर्ने जिम्मेवारी दिइएको छ।
त्यसैगरी, समितिले भोटेकोशी–त्रिशूली विपद्को वैज्ञानिक अध्ययन गर्नुका साथै विपद्को उत्पत्ति, जोखिमका कारण, सीमापार जलाधारको प्रभाव तथा तल्लो तटीय क्षेत्रमा परेको असरबारे समेत अध्ययन र समीक्षा गर्ने कार्यादेश पाएको छ।
तपाईको प्रतिक्रिया