काभ्रेपलाञ्चोक । लगातारको वर्षासँगै आएको बाढीपहिरोका कारण चार दिनदेखि बन्द रहेको बिपी राजमार्ग पुनः सञ्चालनमा आएको छ। बाढीले क्षति पुर्याएका ठाउँमा अस्थायी ‘डाइभर्सन’ निर्माण गर्नुका साथै विभिन्न स्थानमा खसेको पहिरो हटाएपछि बिहानदेखि सवारीसाधन सञ्चालन गर्न दिइएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ।
डिभिजन प्रमुख सुमन योगेशका अनुसार रोशी क्षेत्रको चौकीडाँडामा खोलाको बहाव अझै तीव्र रहेकाले तत्काल सडक किनारमा डाइभर्सन बनाउन सम्भव नभएपछि खानेपानी पम्प हाउसतर्फ जाने भित्री ट्र्याक प्रयोग गरी यातायात सञ्चालन गरिएको हो। खोलाको बहाव कम भएपछि चौकीडाँडामै किनारबाट डाइभर्सन निर्माण गरिने उनले बताए।
रोशी खोलामा आएको बाढीले चौकीडाँडा, कटुञ्जे, पिप्ले र माम्ती क्षेत्रमा बनाइएका अस्थायी डाइभर्सन बगाएको थियो। त्यस्तै, दाउन्ने–कालोपुल र चारसयबेँसी क्षेत्रमा पहिरो खसेपछि राजमार्ग अवरुद्ध बनेको थियो।
हाल जोखिमपूर्ण स्थानहरूमा एकतर्फी रूपमा सवारीसाधन सञ्चालन भइरहेको छ। ती स्थानमा पनि छिट्टै दुईतर्फी यातायात सञ्चालन गर्ने गरी सडक मर्मत तथा व्यवस्थापनको काम भइरहेको कार्यालयले जनाएको छ।
राजमार्ग खुलाउन सोमबार बिहानदेखि नै अस्थायी डाइभर्सन निर्माण र विभिन्न सडकखण्डमा खसेको पहिरो हटाउने काम सुरु गरिएको थियो।
तपाईको प्रतिक्रिया