काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन अब असोज १८ गते हुने भएको छ। यसअघि असोज १६ गते महाधिवेशन गर्ने तयारी गरिएको थियो। कांग्रेसका अनुसार उद्घाटन समारोह काठमाडौंको खुलामञ्चमा दिउँसो २ बजे आयोजना हुनेछ।
कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले मंगलबार विज्ञप्ति जारी गर्दै महाधिवेशनको नयाँ मिति र स्थानबारे जानकारी दिएका हुन्।
विज्ञप्तिअनुसार महाधिवेशनअन्तर्गत वडा, गाउँपालिका र नगरपालिका तहका अधिवेशन सम्पन्न भइसकेका छन् भने प्रदेश सभा क्षेत्रीय तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनहरू सञ्चालनमा छन्।
देशका विभिन्न स्थानमा भएको भारी वर्षाका कारण उत्पन्न प्रतिकूल परिस्थितिले केही निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि छनोटको प्रक्रिया अझै जारी रहेको कांग्रेसले जनाएको छ।
यही अवस्थालाई मध्यनजर गर्दै महाधिवेशनको उद्घाटन कार्यक्रम दुई दिन पछि सारिएको कांग्रेसले स्पष्ट पारेको छ। अब १५औँ महाधिवेशनको उद्घाटन असोज १८ गते दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा हुनेछ।

तपाईको प्रतिक्रिया