बुधबार १४ असोज २०८३
अर्थ

नेप्से ९.६२ अंकले घट्यो, कारोबार रकम साढे ४ अर्बमा सीमित

मंगलबार असोज १३, २०८३/ Tuesday 09-29-26

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मंगलबार पनि ओरालो लागेको छ। सोमबार १६ अंक घटेको नेप्से मंगलबार थप ९.६२ अंकले घटेर २६०३.७१ विन्दुमा झरेर कारोबार बन्द भएको हो।

कारोबार सुरु भएदेखि नै दबाबमा रहेको बजार दिनभरजसो रातो देखिएको थियो। मंगलबार नेप्से अधिकतम २६१४ विन्दुसम्म पुगे पनि कारोबारका क्रममा न्यूनतम २५८८ विन्दुसम्म ओर्लिएको थियो। बजारले २५ सय विन्दुको आसपासमा भने केही बलियो टेवा पाएको देखिएको छ।

कारोबारको अन्तिम समयमा खरिदकर्ताको सक्रियता बढेपछि नेप्सेको गिरावट केही सीमित भएको हो। त्यससँगै सूचक दोहोरो अंकको गिरावटबाट जोगिँदै एकल अंकको कमीमा बन्द भएको छ।

मंगलबार कुल ४ अर्ब ६५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरी सबैभन्दा अगाडि रह्यो। कम्पनीको २२ करोड ९९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।

मूल्य वृद्धितर्फ आईसीएफसी फाइनान्सको डिबेन्चर शीर्ष स्थानमा रह्यो। यसको मूल्य ९.१८ प्रतिशतले बढेको छ। त्यस्तै, सयपत्री हाइड्रोपावरको सेयर मूल्य ६.७९ प्रतिशतले उकालो लागेको छ।

यता, मूल्य घट्ने कम्पनी तथा उपकरणमा म्युचुअल फन्डहरू अगाडि देखिएका छन्। सिटिजन्स सुपर ३० को मूल्य ५.४४ प्रतिशत तथा आरबीबी म्युचुअल फन्डको मूल्य ४.६७ प्रतिशतले घटेको छ।

मंगलबार कारोबारमा आएका कुल ३६३ कम्पनीमध्ये ६९ वटाको सेयर मूल्य बढेको छ भने १९९ कम्पनीको मूल्य घटेको छ।

तपाईको प्रतिक्रिया