परराष्ट्रमन्त्री खनाल र श्रीलङ्काका विदेशमन्त्री हेराथबीच भेटवार्ता
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलङ्काका विदेश, वैदेशिक रोजगार तथा पर्यटनमन्त्री विजिथा हेराथबीच भेटवार्ता भएको छ।
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन न्यूयोर्कमा रहेका मन्त्री खनालले महासभाको साइडलाइनमा श्रीलङ्काका समकक्षी हेराथसँग द्विपक्षीय भेटवार्ता गरेका हुन्।
भेटका क्रममा नेपाल–श्रीलङ्का सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको मन्त्री खनालको सचिवालयले जनाएको छ।
मन्त्री खनालले नेपालको हालैको विनाशकारी जलवायुजन्य विपद्बाट प्रभावित समुदायप्रति श्रीलङ्काले देखाएको ऐक्यबद्धताका लागि आभार व्यक्त गरेका छन्। उनले आर्थिक तथा मानवीय सहायता उपलब्ध गराएकोमा श्रीलङ्का सरकार र त्यहाँका नागरिकप्रति धन्यवादसमेत व्यक्त गरे।
भेटमा दुई देशबीचका विद्यमान द्विपक्षीय संयन्त्रका बैठकहरू नियमित रूपमा आयोजना गर्ने विषयमा पनि जोड दिइएको थियो।
त्यस अवसरमा व्यापार, पर्यटन, शिक्षा, संस्कृति, सम्पर्क सञ्जाल तथा जनस्तरको सम्बन्धलगायत पारस्परिक हितका विभिन्न क्षेत्रमा सहकार्य थप विस्तार र सुदृढ गर्ने विषयमा दुवै पक्षबीच छलफल भएको थियो।
तपाईको प्रतिक्रिया