दुई दशकपछि इराकबाट अमेरिकी सेना फिर्ता, इरानको प्रभाव बढ्न सक्ने
काठमाडौं । अमेरिकाले इराकमा रहेका आफ्ना अन्तिम सैन्य आधारबाट समेत सेना फिर्ता गर्ने प्रक्रिया अघि बढाएको छ। दुई दशकभन्दा लामो समयदेखि इराकमा रहेको अमेरिकी सैन्य उपस्थितिको अन्त्यसँगै इरान र उसका समर्थक समूहको प्रभाव बढ्न सक्ने चर्चा सुरु भएको छ।
सन् २०२४ मा तत्कालीन अमेरिकी राष्ट्रपति जो बाइडेनको कार्यकालमा भएको सहमतिअनुसार वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इराकबाट अमेरिकी सेना फिर्ता गर्ने निर्णय कार्यान्वयन गरिरहेको हो।
इराकमा लामो समयदेखि अमेरिकी सैन्य उपस्थितिले इरानको प्रभावलाई सन्तुलनमा राख्दै आएको भन्दै केही सुरक्षा विश्लेषकले अमेरिकी सेना हटेपछि इरान समर्थित समूहको प्रभाव बढ्न सक्ने बताएका छन्। इराकी सुरक्षा विश्लेषक जसिम अल–बहाद्लीले अमेरिकी सैन्य उपस्थिति हट्दा इरानले रणनीतिक लाभ लिन सक्ने बताएका छन्।
अमेरिकी सेना फिर्तालाई इरान समर्थित समूहहरूले आफ्नो सफलताका रूपमा व्याख्या गरेका छन्। ‘इस्लामिक रेजिस्टेन्स इन इराक’का कमाण्डर अबु मुज्ताबा अल–यासिरीले अमेरिकी सेनाको बहिर्गमनलाई इराकमा विदेशी सैन्य उपस्थितिको अन्त्यका रूपमा चित्रण गरेका छन्।
यद्यपि अमेरिकी सेना फिर्ता हुने विषयप्रति इराकमा मिश्रित धारणा देखिएको छ। अमेरिकी सैन्य उपस्थिति अन्त्य हुनु सकारात्मक भएको ठान्नेहरू भए पनि केही वर्गले सुरक्षा शून्यता सिर्जना हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।
फलुजा शहरका सुन्नी जनजाति अगुवा अब्दुलरहमान अल–जोबाईले इराक अझै पूर्ण रूपमा आफ्नो सुरक्षाको जिम्मेवारी सम्हाल्न तयार भइनसकेको बताएका छन्।
अमेरिकाले सन् २००३ मा तत्कालीन राष्ट्रपति सद्दाम हुसेनको सत्ता अन्त्य गर्न इराकमा सैन्य हस्तक्षेप गरेको थियो। सन् २०११ देखि अमेरिकी सेना फिर्ता हुन थाले पनि सन् २०१४ पछि इस्लामिक स्टेटविरुद्धको अभियानका क्रममा अमेरिकी सैन्य उपस्थिति पुनः महत्वपूर्ण बनेको थियो।
पछिल्ला वर्षमा इराकले अमेरिका र इरान दुवैसँग सम्बन्ध कायम राख्दै आएको छ। सन् २०२० मा बगदाद विमानस्थलमा इरानी रिभोल्युसनरी गार्डका कमाण्डर कासेम सुलेमानी अमेरिकी कारबाहीमा मारिएपछि इराकमा रहेका अमेरिकी सैन्य आधारमाथि इरान समर्थित समूहबाट आक्रमण हुँदै आएका थिए।
अमेरिकी सेना फिर्तासँगै इराकमा निष्क्रिय अवस्थामा रहेका इस्लामिक स्टेटका लडाकु पुनः सक्रिय हुन सक्ने जोखिमसमेत औँल्याइएको छ। कुर्दिस कमाण्डर सिरवान बार्जानीले अमेरिकी गुप्तचर, सैन्य तथा ड्रोन सहयोग घटेमा इस्लामिक स्टेटका समूहले पुनर्गठनको अवसर पाउन सक्ने बताएका छन्।
तपाईको प्रतिक्रिया