बाढी–पहिरोले देशभरका सडक प्रभावित, पृथ्वी राजमार्ग आजदेखि पूर्ण सञ्चालनमा आउने
काठमाडौं । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभरका प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीका अनुसार विभिन्न स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केही सडकखण्डमा एकतर्फी यातायात सञ्चालन भइरहेको छ।
ललितपुरको गोदावरी नगरपालिका–४ स्थित टिकाभैरव–चारधारे सडकखण्डमा पहिरो खसेपछि एकतर्फी यातायात सञ्चालनमा छ। कान्तिलोकपथको ताकुर्चे खण्ड भने पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ।
रसुवामा बाढीका कारण मुख्य राजमार्गका सबै सडकखण्ड अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको छ।
गण्डकी प्रदेशका विभिन्न जिल्लामा पनि बाढी तथा पहिरोले सडक यातायात प्रभावित भएको छ। मनाङको बेँसीसहर–खाङसार सडक बाढीका कारण अवरुद्ध छ। त्यस्तै, म्याग्दीको बेनी–जोमसोम र बेनी–दरबाङ सडकखण्ड पहिरोका कारण पूर्ण रूपमा बन्द छन्।
मुस्ताङको जोमसोम–कोरला सडक, पर्वतको मालढुंगा–बेनी सडक तथा मध्यपहाडी लोकमार्ग, नवलपरासी पूर्वको कालीगण्डकी करिडोर र लमजुङस्थित मध्यपहाडी लोकमार्गका विभिन्न खण्डमा पहिरोका कारण यातायात ठप्प भएको छ। बागलुङस्थित कालीगण्डकी करिडोरमा भने पहिरो हटाएर एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ।
लुम्बिनी प्रदेशमा गुल्मीको कालीगण्डकी करिडोर पूर्ण रूपमा अवरुद्ध रहेको छ। पाल्पाको सिद्धार्थ राजमार्गमा भने पहिरो हटाएर एकतर्फी यातायात सञ्चालन गरिएको छ।
यसैबीच, पृथ्वी राजमार्गमा अवरुद्ध सडकखण्ड खुलाउने काम तीव्र पारिएको छ। जिल्ला प्रशासन कार्यालय धादिङले मंगलबार सूचना जारी गर्दै पहिरो तथा सडक भासिएका स्थानमा अवरोध हटाउने काम भइरहेको र हाल एकतर्फी रूपमा सवारीसाधन सञ्चालन भइरहेको जनाएको छ।
प्रशासनका अनुसार थप पहिरो वा अन्य अवरोध नआएमा आज दिउँसोदेखि पृथ्वी राजमार्गमा सबै प्रकारका सवारीसाधन नियमित रूपमा सञ्चालनमा आउनेछन्।
वर्षा केही रोकिए पनि राजमार्गका विभिन्न स्थानमा पहिरोको जोखिम कायमै रहेकाले जुनसुकै समयमा सडक अवरुद्ध हुन सक्ने प्रशासनले जनाएको छ। प्रशासनले चालक, यात्रु तथा सर्वसाधारणलाई सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न तथा ट्राफिक नियम र सडक अनुशासन पालना गर्न आग्रह गरेको छ।
तपाईको प्रतिक्रिया