बिहीबार १५ असोज २०८३
राजनीति

सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति सदनको रेकर्डबाट हटाउन श्रम संस्कृतिको माग

बुधबार असोज १४, २०८३/ Wednesday 09-30-26

काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसदहरूले प्रधानमन्त्रीले नेपाल–भारत सीमाबारे संसद्मा दिएको अभिव्यक्ति सच्याउन वा संसद्को अभिलेखबाट हटाउन पुनः माग गरेका छन्।

बुधबार प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै पार्टीका सांसदहरूले उठेर विरोध जनाएका थिए। त्यसपछि सभामुख डोलप्रसाद अर्यालले सांसद अम्बिकादेवी संग्रौलालाई बोल्ने समय दिएका थिए।

रोस्टमबाट सम्बोधन गर्दै संग्रौलाले गत जेठ १७ गते प्रधानमन्त्रीले ‘नेपालले पनि भारतका धेरै ठाउँमा सीमा मिचेको छ’ भन्ने आशयको अभिव्यक्ति दिएको स्मरण गराइन्। उनले उक्त भनाइलाई आपत्तिजनक भन्दै त्यसलाई सच्याउन वा संसद्को रेकर्डबाट हटाउनुपर्ने माग दोहोर्याइन्।

यसअघि पनि उक्त अभिव्यक्ति फिर्ता लिन वा अभिलेखबाट हटाउन माग गर्दै आए पनि अहिलेसम्म सम्बोधन नभएको उनले बताइन्। मागबारे सरकारले कहिलेसम्म आवश्यक कदम चाल्छ भन्ने विषयमा सभामुखमार्फत सरकारको ध्यानाकर्षणसमेत गराइन्।

श्रम संस्कृति पार्टीका सांसदहरूले उक्त विषयलाई संसद्मा निरन्तर उठाउँदै आएका छन्।

तपाईको प्रतिक्रिया