बिहीबार १५ असोज २०८३
राजनीति

स्थानीय निर्वाचनको तयारीमा जुट्न एमाले अध्यक्ष ओलीको आह्वान

बुधबार असोज १४, २०८३/ Wednesday 09-30-26

काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेश तथा जिल्ला कमिटीका सचिवालय सदस्यहरूसँग भर्चुअल संवाद गर्दै पार्टीका पछिल्ला निर्णय कार्यान्वयनमा केन्द्रित हुन निर्देशन दिएका छन्।

पार्टी केन्द्रीय कार्यालय च्यासलबाट सम्बोधन गर्दै अध्यक्ष ओलीले हालै सम्पन्न केन्द्रीय कमिटी बैठकले तय गरेका राजनीतिक तथा सांगठनिक निर्णयलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न मातहतका नेता–कार्यकर्तालाई आग्रह गरेका हुन्।

ओलीले लोकतन्त्रको पुनर्बहाली तथा आगामी वैशाखमा हुने स्थानीय तह निर्वाचनलाई केन्द्रमा राखेर पार्टीका गतिविधिलाई थप गतिशील बनाउनुपर्ने बताएका छन्। स्थानीय तहसम्म संगठनलाई सक्रिय बनाउँदै निर्वाचनको तयारीलाई तीव्रता दिनुपर्नेमा उनले जोड दिएका छन्।

यसअघि मंगलबार ओलीले कोशी, मधेस, बागमती, उपत्यका विशेष तथा सम्पर्क समन्वय प्रदेशका सचिवालय सदस्यहरूसँग संवाद गरेका थिए। सोही अभियानलाई निरन्तरता दिँदै उनले बाँकी चार प्रदेशका अगुवा नेताहरूसँग छलफल गरेका हुन्।

एमालेले पछिल्लो समय लोकतन्त्रको पुनर्बहाली र आगामी स्थानीय तह निर्वाचनको तयारीलाई राजनीतिक तथा सांगठनिक प्राथमिकतामा राख्दै देशव्यापी रूपमा पार्टी गतिविधि अघि बढाइरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया