राष्ट्रसंघमा प्रधानमन्त्री बालेनको सम्बोधनले नेपालको कूटनीतिक छवि उकासिएको दाबी
काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा नेपालको सहभागिताले आगामी दिनमा नेपालको कूटनीतिलाई थप सशक्त बनाउने आधार तयार भएको बताएका छन्।
महासभामा सहभागी भएर स्वदेश फर्किएपछि बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खनालले राष्ट्रहित प्रवर्द्धनमा ठोस योगदान पुर्याउने आधार तयार भएको बताए।
उनका अनुसार महासभाका क्रममा प्रधानमन्त्री बालेनले गरेको सम्बोधन तथा विभिन्न बहुपक्षीय बैठकमा भएको सहभागिता र छलफलले नेपालको कूटनीतिक छवि उच्च बनाउन योगदान गरेको छ।
मन्त्री खनालले भोटेकोशी क्षेत्रमा आएको बाढीबाट भएको क्षतिप्रति अन्तर्राष्ट्रिय समुदायले चासो र ऐक्यबद्धता जनाएको जानकारी दिए।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले समेत आफ्नो मन्तव्यमा नेपालको विपत्तिको विषय उल्लेख गरेको र प्रधानमन्त्रीसँगको भेटमा नेपालको विपत्तिप्रति चासो व्यक्त गरेको उनले बताए।
मन्त्री खनालले प्रधानमन्त्रीको भारत भ्रमण पनि छिट्टै हुने जानकारी दिए। सरकार गठन भएदेखि नै भारतबाट भ्रमणको निमन्त्रणा आएको भए पनि दुवै पक्षको अनुकूल समय मिलाएर ठोस उपलब्धि हासिल हुने गरी भ्रमणको तालिका तय गरिने उनको भनाइ छ।
तपाईको प्रतिक्रिया