दोधारा–चाँदनी झोलुङ्गे पुलमा क्षति, आवतजावत पूर्ण रूपमा बन्द
कञ्चनपुर। महाकाली नदीमाथि निर्माण गरिएको दोधारा–चाँदनी झोलुङ्गे पुलमा क्षति पुगेपछि पुलबाट हुने आवतजावत पूर्ण रूपमा बन्द भएको छ।
दोधारा–चाँदनी नगरपालिका–४ र भीमदत्त नगरपालिका–१३ जोड्ने करिब १ हजार ४५३ मिटर लामो पुलको दोधारातर्फको भागमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
पुलका ८ वटा पिल्लरमध्ये पिल्लर नम्बर ३ भाँचिएपछि पुलको करिब ५ देखि ६ मिटर भाग माथि उठेको छ। पिल्लरमा क्षति पुगेसँगै पुल बाङ्गिएपछि आवतजावतका लागि बाटो पूर्ण रूपमा अवरुद्ध भएको हो।
पुलमा क्षति पुगेपछि स्थानीय बासिन्दालाई वारपार गर्न समस्या भएको छ। पुलको अवस्था निरीक्षण तथा आवश्यक मर्मत–सम्भारका लागि स्थानीय प्रशासन र सम्बन्धित निकायले पहल गरिरहेको जनाइएको छ।
एसियाकै दोस्रो लामो मानिने उक्त झोलुङ्गे पुल दोधारा–चाँदनी क्षेत्रका स्थानीयका लागि महाकाली नदी वारपार गर्ने महत्वपूर्ण माध्यम हो।
तपाईको प्रतिक्रिया