देउवा पक्षले पनि कांग्रेसको महाधिवेशन प्रक्रिया अघि बढायो, आज वडा अधिवेशन
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले १५औँ महाधिवेशनअन्तर्गत आजदेखि वडा अधिवेशन सुरु गर्दैछ।
कांग्रेसको संस्थापन पक्षले यसअघि नै महाधिवेशन प्रक्रिया अघि बढाइसकेको अवस्थामा देउवा पक्षले पनि छुट्टै कार्यतालिकासहित महाधिवेशन प्रक्रिया अघि बढाएको हो।
देउवा पक्षले आगामी मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका तय गरेको छ। सोही कार्यतालिकाअनुसार असोज २० गते पालिका अधिवेशन, असोज २३ गते प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशन र मंसिर ४ गते प्रदेश अधिवेशन गर्ने तयारी गरिएको छ।
देउवा पक्षका अनुसार ७७ वटै जिल्लामा निर्वाचन अधिकृत खटाइएको छ भने वडा अधिवेशन सम्पन्न गर्न विभिन्न जिल्लामा निर्वाचन संयोजकसमेत परिचालन गरिएको छ।
महाधिवेशन आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले वडा तहदेखि नै पार्टी संगठनलाई बलियो र व्यवस्थित बनाउनुपर्ने बताएका छन्। उनले नेता, कार्यकर्ता तथा क्रियाशील सदस्यलाई सक्रियताका साथ वडा अधिवेशनमा सहभागी हुन आग्रह गरेका छन्।
कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा पार्टीभित्र महाधिवेशनको विषयमा दुई पक्षबीच फरक धारणा रहँदै आएको छ।
देउवा पक्षले १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति नै आधिकारिक रहेको दाबी गर्दै आएको छ भने संस्थापन पक्षले आफ्नै कार्यतालिकाअनुसार महाधिवेशन प्रक्रिया अघि बढाइरहेको छ।
तपाईको प्रतिक्रिया