दसैँका लागि असोज २३ देखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय
काठमाडौं । दसैँ, तिहार र छठ पर्वलाई मध्यनजर गर्दै सरकारले लामो तथा मध्यम दूरीका सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ असोज २३ गतेदेखि खुला गर्ने भएको छ।
यातायात व्यवस्था विभागमा मंगलबार बसेको सम्बन्धित सरोकारवालाको बैठकले चाडपर्वका लागि अग्रिम टिकट बुकिङ सुरु गर्ने निर्णय गरेको हो।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाका अनुसार असोज २३ गतेदेखि देशभरका लामो तथा मध्यम दूरीका सार्वजनिक सवारीसाधनका लागि अग्रिम टिकट काट्न सकिनेछ।
वर्षाका कारण आएको बाढीपहिरोले विभिन्न मुख्य राजमार्ग अवरुद्ध भएपछि व्यवसायीहरूले टिकट बुकिङ खुलाउनुअघि सडक यातायात सहज बनाउनुपर्ने माग राखेका थिए। सरकारले अवरुद्ध राजमार्गको तत्काल मर्मत तथा आवश्यक व्यवस्थापन गरी यातायात सञ्चालन सहज बनाउने प्रतिबद्धता जनाएपछि व्यवसायीहरू अग्रिम टिकट बुकिङ खोल्न सहमत भएका हुन्।
बैठकमा गृह मन्त्रालय, नेपाल प्रहरी, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ तथा उपभोक्तावादी संघसंस्थाका प्रतिनिधिहरू सहभागी थिए।
तपाईको प्रतिक्रिया