शुक्रबार १६ असोज २०८३
समाज

ककपिटमै सहपाइलटको हमला, १४ हजार फिट तल झरेको विमान कसरी जोगियो? यस्तो छ घटनाको नालीबेली

बिहीबार असोज १५, २०८३/ Thursday 10-01-26

काठमाडौं । दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाई दुबईको विमान बुधबार आकाशमै गम्भीर संकटमा परेको छ। उडानका क्रममा सहपाइलटले क्याप्टेनमाथि चक्कु प्रहार गरेपछि बोइङ ७३७ म्याक्स–८ विमान केही सेकेन्डमै हजारौँ फिट तल झरेको थियो। अन्ततः यात्रु, चालक दलका सदस्य र विमानमा रहेका दुई अतिरिक्त पाइलटको सक्रियताका कारण ठूलो दुर्घटना टरेको छ।

फ्लाई दुबईको उडान एफजेड–१०७३ दुबईबाट तेल अभिभतर्फ गइरहेको थियो। विमानमा १७४ जना यात्रु तथा चालक दलका सदस्य थिए। उडानका क्रममा ककपिटभित्र दुई पाइलटबीच विवाद भएपछि विमानले अचानक तीव्र गतिमा उचाइ गुमाउन थालेको थियो।

उडान ट्र्याकिङ तथ्यांकअनुसार विमान करिब ३० सेकेन्डको अवधिमा १४ हजार फिटभन्दा बढी तल झरेको थियो। सुरुमा यात्रुहरूले विमान ठूलो टर्बुलेन्समा परेको ठानेका थिए। तर केही समयपछि ककपिटभित्र गम्भीर घटना भइरहेको खुलेको थियो।

ककपिटभित्र सहपाइलटले क्याप्टेन स्मित मच्छारमाथि चक्कु प्रहार गरेको बताइएको छ। केही विवरणमा आपत्कालीन अवस्थामा प्रयोग हुने बन्चरोसमेत प्रयोग भएको उल्लेख गरिएको छ। घटनाको वास्तविक क्रमबारे भने अनुसन्धान भइरहेको छ।

गम्भीर रूपमा घाइते भए पनि क्याप्टेन मच्छारले विमान नियन्त्रणमा ल्याउन महत्वपूर्ण भूमिका खेलेका थिए। उनले ककपिटको ढोका खोलिदिएपछि केही यात्रु र चालक दलका सदस्यभित्र प्रवेश गरेका थिए।

त्यसपछि यात्रुहरूले सहपाइलटलाई नियन्त्रणमा लिए। विमान अझै आकाशमै रहेकाले त्यसपछि अर्को चुनौती विमान कसले उडाउने भन्ने थियो।

संयोगले विमानमा फ्लाई दुबईकै दुई अतिरिक्त पाइलट यात्रुका रूपमा रहेका थिए। उनीहरू रिजर्भ चालक दलका सदस्यका रूपमा उक्त विमानमा यात्रा गरिरहेका थिए। ककपिटभित्रको अवस्था नियन्त्रणमा आएपछि तीमध्ये एक पाइलटले विमानको नियन्त्रण सम्हाले।

विमानलाई स्थिर अवस्थामा ल्याएपछि तेल अभिभतर्फको उडान जारी राख्नुको सट्टा साउदी अरबको ताबुकतर्फ मोडियो। विमानले ताबुकमा सुरक्षित आपत्कालीन अवतरण गरेको थियो।

को हुन् क्याप्टेन स्मित मच्छार?

घटनामा गम्भीर घाइते भएका क्याप्टेन स्मित मच्छार भारतीय नागरिक हुन्। उनी सन् २०२२ देखि फ्लाई दुबईमा बोइङ ७३७ का क्याप्टेनका रूपमा कार्यरत रहेको बताइएको छ।

यसअघि उनले भारतको स्पाइसजेटमा करिब ११ वर्ष काम गरेका थिए। त्यहाँ उनी वरिष्ठ कमान्डर तथा लाइन ट्रेनिङ क्याप्टेनका रूपमा समेत कार्यरत थिए।

उनको व्यावसायिक विवरणअनुसार बोइङ ७३७ विमानमा उनको करिब ९ हजार ७५० घण्टाको उडान अनुभव रहेको बताइएको छ। उनले पाइलट बन्न न्युजिल्यान्डमा प्रशिक्षण लिएका थिए।

घटनापछि मच्छारलाई उपचारका लागि साउदी अरबको अस्पताल लगिएको थियो। उनको शल्यक्रिया गरिएको र अवस्था स्थिर रहेको बताइएको छ।

सहपाइलट पक्राउ

घटनापछि क्याप्टेनमाथि आक्रमण गरेको आरोप लागेका सहपाइलटलाई साउदी अधिकारीहरूले नियन्त्रणमा लिएका छन्। उनी ओमानी नागरिक भएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन्। तर फ्लाई दुबईले उनको पहिचान औपचारिक रूपमा सार्वजनिक गरेको छैन।

सहपाइलटले क्याप्टेनमाथि आक्रमण गर्नुको कारण अहिलेसम्म स्पष्ट भएको छैन। घटनामा आतंकवादी गतिविधि वा पूर्वयोजना थियो कि थिएन भन्ने विषयमा समेत अनुसन्धान भइरहेको छ। यद्यपि अहिलेसम्म त्यस्तो कुनै सम्बन्ध पुष्टि भइसकेको छैन।

घटनापछि फ्लाई दुबईले इजरायलतर्फका केही उडान अस्थायी रूपमा स्थगित गरेको छ। घटनाको विस्तृत अनुसन्धान साउदी अरब र संयुक्त अरब इमिरेट्सका सम्बन्धित निकायले अघि बढाइरहेका छन्।

 

तपाईको प्रतिक्रिया