शुक्रबार १६ असोज २०८३
राजनीति

प्रधानमन्त्रीलाई आङदेम्बेको प्रश्न : ‘संसद् तपाईंको अनुकूलतामा चल्ने संस्था होइन’

बिहीबार असोज १५, २०८३/ Thursday 10-01-26

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रधानमन्त्री बालेन्द्र शाह संसद्प्रति उत्तरदायी हुनुपर्ने बताएका छन्।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै आङदेम्बेले प्रधानमन्त्रीले संसद्लाई उपेक्षा गरेको आरोप लगाए। उनले प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन जाने क्रममा संसद्लाई जानकारी नगराएको र फर्किएपछि पनि त्यसबारे संसद्लाई जानकारी नदिएको भन्दै प्रश्न उठाए।

प्रधानमन्त्री संसद् बैठकमा उपस्थित हुनुपर्ने र उपस्थित हुन नसक्ने अवस्थामा त्यसको कारण संसद्लाई जानकारी गराउनुपर्ने उनको भनाइ थियो।

आङदेम्बेले संसद् प्रधानमन्त्रीको अनुकूलताअनुसार चल्ने संस्था नभएको उल्लेख गर्दै सांसदहरूले उठाएका प्रश्नको सामना गर्न प्रधानमन्त्रीलाई आग्रह गरे।

उनले संसद् र संसद्मा उठाइएका प्रश्नलाई सम्मान गर्न आग्रह गर्दै त्यसले प्रधानमन्त्रीलाई कमजोर नभई थप बलियो बनाउने बताए।

संसद् लोकतन्त्रको पाठशाला भएको उल्लेख गर्दै आङदेम्बेले परम्परा परिवर्तन गर्ने नाममा गलत अभ्यास स्थापित नगर्न पनि प्रधानमन्त्रीलाई सचेत गराए।

 

तपाईको प्रतिक्रिया