शुक्रबार १६ असोज २०८३
समाज

त्रिभुवन विश्वविद्यालय सभा बैठक असोज २२ गते बस्ने

बिहीबार असोज १५, २०८३/ Thursday 10-01-26

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको सिनेट बैठक असोज २२ गते बस्ने भएको छ। विश्वविद्यालयको नीति तथा कार्यक्रम र वार्षिक बजेट पारित गर्ने उद्देश्यले बैठक बोलाउन लागिएको त्रिविका प्रवक्ता नवीन्द्र भण्डारीले जानकारी दिएका छन्।

त्रिविको सभा बैठक २०८३ असारभित्रै बस्नुपर्ने भए पनि अहिलेसम्म हुन सकेको थिएन। बैठक नबस्दा सभाबाट पारित गर्नुपर्ने नीति तथा कार्यक्रम र वार्षिक बजेट अघि बढ्न नसकेको त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसका स्ववियु सभापति दीपकराज जोशीले बताएका छन्।

विश्वविद्यालयको संगठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम, २०५० को परिच्छेद–१७ मा सभा बैठकको प्रक्रिया स्पष्ट गरिएको छ। उक्त व्यवस्थाअनुसार वार्षिक दिवस बैठक वा साधारण बैठक बस्नुभन्दा कम्तीमा १५ दिनअघि सदस्यहरूलाई बैठकको सूचना, कार्यसूची तथा प्रस्ताव उपलब्ध गराउनुपर्ने हुन्छ।

तर, असोज २२ गतेका लागि प्रस्तावित सभा बैठकबारे हालसम्म सदस्यहरूलाई औपचारिक रूपमा जानकारी नगराइएको जोशीको दाबी छ।

जोशीले विश्वविद्यालयको ग्रेस लिस्ट हजारौँ विद्यार्थीको लामो अध्ययन, मेहनत र शैक्षिक यात्रासँग प्रत्यक्ष जोडिएको विषय भएको बताएका छन्। विद्यार्थीले हासिल गरेको उपाधिलाई औपचारिक मान्यता दिने प्रक्रियासहित नीति तथा कार्यक्रम र वार्षिक बजेटजस्ता महत्त्वपूर्ण विषय नियमित प्रक्रिया पूरा गरेर अघि बढाउनुपर्ने उनको भनाइ छ।

नियमित प्रक्रियालाई बेवास्ता गर्दै यस्ता विषय अघि बढाउन खोज्दा विश्वविद्यालयजस्तो प्राज्ञिक संस्थाको मर्यादामाथि प्रश्न उठ्ने जोशीले बताएका छन्।

तपाईको प्रतिक्रिया