काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा खासै परिवर्तन देखिएन। नेप्से २५९९.१५ विन्दुमा पुगेर बन्द भएको छ।
परिसूचक स्थिर रहे पनि सेयर कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ। बुधबार ४ अर्ब ७६ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बिहीबार ४ अर्ब ८९ करोड रुपैयाँको सेयर किनबेच भएको हो।
बिहीबार कुल ३५३ वटा धितोपत्र कारोबारमा आएका थिए। तीमध्ये १ करोड २० लाख ६५ हजार ५५५ कित्ता सेयर किनबेच भएको छ।
कारोबार भएका कम्पनीमध्ये १३९ वटाको सेयर मूल्य बढेको छ भने १२८ कम्पनीको मूल्य घटेको छ। १२ कम्पनीको मूल्य भने अघिल्लो दिनकै स्तरमा स्थिर रह्यो।
सिन्धु विकास बैंकको मूल्यमा उच्च वृद्धि
बिहीबार सिन्धु विकास बैंकको सेयर मूल्य सबैभन्दा धेरै १०.८१ प्रतिशतले बढेको छ। कम्पनीको प्रतिकित्ता सेयर मूल्य ४९३ रुपैयाँ पुगेको छ।
त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य ९.३५ प्रतिशतले बढेर प्रतिकित्ता ८०६ रुपैयाँ ९० पैसा पुगेको छ।
यता, सयपत्री हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ९.६६ प्रतिशतले घटेको छ। कम्पनीको प्रतिकित्ता मूल्य ५२४ रुपैयाँमा झरेको छ। स्वाभिमान लघुवित्तको मूल्य पनि ५.३३ प्रतिशतले घटेर प्रतिकित्ता १ हजार ३३० रुपैयाँ १० पैसा कायम भएको छ।
सिद्धार्थ बैंकको सर्वाधिक कारोबार
बिहीबार कारोबार रकमका आधारमा सिद्धार्थ बैंक अगाडि रह्यो। बैंकको प्रतिकित्ता ४५९ रुपैयाँ ९० पैसाका दरले ३० करोड ५३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। बैंकको सेयर मूल्य अघिल्लो दिनको तुलनामा ०.९९ प्रतिशतले बढेको हो।
सर्वाधिक कारोबार हुने कम्पनीको सूचीमा अपी पावर दोस्रो स्थानमा रहेको छ। कम्पनीको प्रतिकित्ता ३४१ रुपैयाँका दरले २२ करोड ८१ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
बिहीबार कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये चार समूहको परिसूचक बढ्दा नौ समूहमा गिरावट आएको छ। तीमध्ये व्यापार समूहको परिसूचक सबैभन्दा धेरै १.०५ प्रतिशतले घटेको छ।
तपाईको प्रतिक्रिया