राष्ट्रपतिबाट संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभाको चालू अधिवेशन अन्त्य गरेका छन्।
राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर राउतका अनुसार असोज १६ गते शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी संसद्को चालू अधिवेशन अन्त्य गरिएको हो।
नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम दुवै सदनको अधिवेशन अन्त्य गरेका हुन्।
संविधानले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संघीय संसद्को अधिवेशन आह्वान तथा अन्त्य गर्न सक्ने व्यवस्था गरेको छ।
गत वैशाख २८ गतेदेखि सुरु भएको चालू अधिवेशनमा सरकारले आगामी आर्थिक वर्षको बजेटसहित बजेटसँग सम्बन्धित विभिन्न कानुन निर्माण गरेको थियो।
यसै अवधिमा संसद् अधिवेशनमा नरहेका बेला सरकारले जारी गरेका विभिन्न अध्यादेशसमेत सदनबाट स्वीकृत भएका छन्। ती अध्यादेशमार्फत संशोधन गरिएका कानुनी व्यवस्थालाई समेटेर ल्याइएका प्रतिस्थापन विधेयकहरू पनि संसद्बाट पारित भई ऐनका रूपमा कार्यान्वयनमा आएका छन्।
तपाईको प्रतिक्रिया