आइतबार १८ असोज २०८३
समाज

नवलपरासी बस दुर्घटनामा मृत्यु भएका ६ जनामध्ये ५ जनाको परिचय खुल्यो

शनिबार असोज १७, २०८३/ Saturday 10-03-26

काठमाडौं । नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ स्थित एस मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा मृत्यु भएका ६ जनामध्ये ५ जनाको पहिचान खुलेको छ। दुर्घटनामा १० जना घाइते भएका छन्।

नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको बस एस मोडमा दुर्घटनामा परेको हो। प्रहरीका अनुसार चालकले बस नियन्त्रणमा लिन नसक्दा सडकबाट नालामा खसेर दुर्घटना भएको प्रारम्भिक जानकारी छ।

बसमा चालकसहित १८ जना सवार थिए। दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। दुई जना भने सकुशल रहेको प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीका अनुसार मृत्यु हुनेमा जाजरकोटको भेरीगंगा नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्री, बाँकेको कोहलपुर नगरपालिका–३ का ३२ वर्षीय दिपेन्द्र केसी, बाजुराको स्वामीकार्तिक क्षेत्रका ६५ वर्षीय नरेन्द्रराज गिरी, बाँकेको कोहलपुर–१० का ५५ वर्षीय एकेन्द्रराज रेग्मी र नेपालगञ्ज–७ का २२ वर्षीय कृष कनौजिया रहेका छन्।

यस्तै, दुर्घटनामा करिब ४० देखि ४२ वर्ष उमेरका एक पुरुषको पनि मृत्यु भएको छ। उनको नाम, थर र ठेगाना खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएकाहरूको नवलपरासी तथा चितवनका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

तपाईको प्रतिक्रिया