चीनको विरोधका बाबजुद ताइवानलाई अमेरिकाले दियो दुई लडाकु विमान
काठमाडौं । चीनसँगको सैन्य तनाव बढिरहेका बेला अमेरिकाले ताइवानलाई उपलब्ध गराउन लागेको ६६ वटा एफ–१६भी ब्लक ७० लडाकु विमानमध्ये पहिलो दुई विमान ताइवान पुगेका छन्।
महिनौँको ढिलाइपछि ती विमान शुक्रबार ताइवानको पूर्वी तटमा रहेको चिहाङ एयर बेसमा अवतरण गरेका हुन्। हवाई तथा गुआम हुँदै आएका दुवै विमान ताइतुङस्थित चिहाङ एयर बेसमा अवतरण गरेको बताइएको छ।
अमेरिकाले सन् २०१९ मा करिब ८ अर्ब अमेरिकी डलरमा ६६ वटा एफ–१६भी विमान ताइवानलाई बिक्री गर्ने सम्झौता स्वीकृत गरेको थियो। सफ्टवेयरलगायत प्राविधिक समस्याका कारण विमानको आपूर्तिमा ढिलाइ हुँदै आएको थियो।
पहिलो दुई विमान ताइवान पुगेपछि राष्ट्रपति लाई चिङ–तेले अमेरिकी सहयोगप्रति धन्यवाद व्यक्त गर्दै यसलाई ताइवानको हवाई सुरक्षा क्षमता सुदृढ पार्ने महत्वपूर्ण कदमका रूपमा उल्लेख गरेका छन्।
ताइवानका रक्षामन्त्री वेलिङ्टन कूले बाँकी एफ–१६भी विमान पनि चाँडै ताइवान आइपुग्ने बताएका छन्। यद्यपि उनले थप विमानको आपूर्ति हुने निश्चित मिति भने सार्वजनिक गरेका छैनन्।
नयाँ विमानको आगमनसँगै ताइवानसँग रहेका एफ–१६ लडाकु विमानको संख्या २०० भन्दा बढी पुग्नेछ।
एफ–१६भी ब्लक ७० अमेरिकी एफ–१६ ‘फाइटिङ फाल्कन’ लडाकु विमानको नयाँ उत्पादन तथा अत्याधुनिक संस्करण हो। चौथो पुस्ताको बहुउद्देश्यीय लडाकु विमान भए पनि यसमा आधुनिक एईएसए राडार, उन्नत ककपिट, नयाँ विद्युतीय प्रणाली तथा आधुनिक हतियार प्रणाली जडान गरिएको छ।
विमानमा रहेको एपीजी–८३ एईएसए राडारले हवाई तथा जमिनमा रहेका लक्ष्य पहिचान र निगरानी गर्ने क्षमता बढाउने बताइएको छ। निर्माता लकहिड मार्टिनका अनुसार यसको प्रविधिमा एफ–२२ र एफ–३५ लडाकु विमानमा प्रयोग हुने एईएसए राडारसँग केही हार्डवेयर तथा सफ्टवेयर समानता छ।
एफ–१६भीमा पाइलटका लागि उच्च रिजोल्युसनको केन्द्रीय डिस्प्ले, सुधारिएको मिसन कम्प्युटर, उन्नत सञ्चार प्रणाली, लक्ष्य पहिचान प्रणाली र स्वचालित जमिन ठोक्किनबाट बचाउने प्रणाली पनि समावेश गरिएको छ। विमानको संरचनात्मक आयु १२ हजार उडान घण्टासम्म पुर्याइएको निर्माता कम्पनीको विवरण छ।
आधुनिक राडार, एभियोनिक्स र हतियार प्रणालीका कारण नयाँ एफ–१६भीले चिनियाँ वायु सेनाका लडाकु विमानको सामना गर्ने ताइवानको क्षमतामा वृद्धि गर्ने अपेक्षा गरिएको छ। चिनियाँ वायु सेनासँग जे–२० लगायतका आधुनिक लडाकु विमान छन्।
अमेरिकाले ताइवानलाई हतियार उपलब्ध गराउँदै आएको विषयमा चीनले लामो समयदेखि आपत्ति जनाउँदै आएको छ। चीनले ताइवानलाई आफ्नो भूभागको हिस्सा दाबी गर्दै अमेरिकाले ताइवानलाई हतियार बिक्री रोक्नुपर्ने बताउँदै आएको छ।
एफ–१६भी विमान ताइवान पुगेको विषयमा चिनियाँ विदेश मन्त्रालयले तत्काल प्रतिक्रिया दिएको थिएन। अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले भने ताइवानसहित हिन्द–प्रशान्त क्षेत्रका साझेदार तथा सहयोगीहरूसँग सुरक्षा र समृद्धिका लागि काम जारी राख्ने बताएका छन्।
अमेरिकाबाट नयाँ लडाकु विमान ताइवान पुगेको घटना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच वासिङ्टनमा भेटवार्ता भएको करिब एक सातापछि भएको हो।
ट्रम्पले यसअघि ताइवानका लागि प्रस्तावित करिब १४ अर्ब अमेरिकी डलर बराबरको थप हतियार प्याकेज तत्काल अघि नबढाउने बताएका थिए। यसअघि सन् २०२५ को डिसेम्बरमा उनले ताइवानका लागि करिब ११ अर्ब डलर बराबरको हतियार बिक्री स्वीकृत गरेका थिए।
तपाईको प्रतिक्रिया