१५औँ कांग्रेस महाधिवेशन: प्रतिनिधिका लागि पाँच हजार कोठा बुक
काठमाडौं । नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन काठमाडौं आउने प्रतिनिधि तथा शुभेच्छुकका लागि विभिन्न क्षेत्रका होटलमा बसोबासको व्यवस्था मिलाइएको छ।
महाधिवेशनको आवास व्यवस्थापन समितिले काठमाडौंका गौशाला, कोटेश्वर, लाजिम्पाट, ठमेल, नयाँ बसपार्क, सुन्धारा, बालाजु र कलंकी क्षेत्रमा होटल बुकिङ गरेको जनाएको छ। नेपाल लोकतान्त्रिक साना होटल व्यवसायी संघका अनुसार करिब १० हजार प्रतिनिधि तथा शुभेच्छुकलाई बसाउन पाँच हजार कोठाको व्यवस्था गरिएको छ।
प्रदेशअनुसार प्रतिनिधिहरूको बसोबास व्यवस्थापन गरिएको छ। कोशी र मधेस प्रदेशका प्रतिनिधिका लागि गौशाला तथा कोटेश्वर, बागमतीका लागि लाजिम्पाट तथा ठमेल, गण्डकी र लुम्बिनीका लागि बालाजु तथा नयाँ बसपार्क र कर्णाली तथा सुदूरपश्चिमका प्रतिनिधिका लागि सुन्धारा तथा कलंकी क्षेत्रमा होटलको व्यवस्था गरिएको छ।
विदेशस्थित नेपाली जनसम्पर्क समितिबाट आउने प्रतिनिधिहरूलाई लाजिम्पाट र ठमेल क्षेत्रमा राख्ने व्यवस्था मिलाइएको छ। प्रतिनिधिहरूका लागि सहुलियत दरमा होटल उपलब्ध गराइएको आयोजकले जनाएको छ।
जिल्ला, जनसम्पर्क समिति तथा भ्रातृ संस्थाबाट आउने महाधिवेशन प्रतिनिधिले आफ्नो आवास र होटल खर्च आफैँ व्यहोर्नुपर्नेछ। विदेशबाट आउने पाहुनाको आवास खर्च भने पार्टीले बेहोर्ने व्यवस्था गरिएको छ।
महाधिवेशन अवधिभर प्रतिनिधिहरूका लागि काठमाडौंको भृकुटीमण्डपमा बिहान र दिउँसोको खानाको व्यवस्था पनि पार्टीले गर्ने जनाइएको छ। बसोबासका विषयमा समस्या भए नेपाल लोकतान्त्रिक साना होटल व्यवसायी संघमार्फत सहजीकरण गर्न सकिनेछ।
होटलको नाम, स्थान र मूल्यसम्बन्धी विवरण पार्टीको आधिकारिक वेबसाइटमा राखिएको जनाइएको छ। महाधिवेशन असोज २२ गतेसम्म सञ्चालन हुने कार्यक्रम रहेको छ।
तपाईको प्रतिक्रिया