कांग्रेस महाधिवेशनमा एउटै अवधिमा दुई तहमा उम्मेदवार बन्न नपाइने
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय पदमा उम्मेदवारी दिएका नेताहरूले सोही अवधिमा प्रदेश तथा जिल्ला कार्यसमितिका पदमा उम्मेदवारी दिन नपाउने भएका छन्।
पार्टीको केन्द्रीय निर्वाचन समितिले विधानमा रहेको व्यवस्थालाई स्मरण गराउँदै यस्तो स्पष्ट पारेको हो। समितिका सदस्य सचिव राजु कटुवालद्वारा जारी विज्ञप्तिमा नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) अनुसार कुनै एक तहको अधिवेशनमा प्रतिस्पर्धा गरेको व्यक्ति सोही अवधिमा अर्को माथिल्लो वा तल्लो तहको कार्यसमितिको पदमा उम्मेदवार बन्न नपाउने उल्लेख छ।
यस व्यवस्थाअनुसार केन्द्रीय कार्यसमितिका पदमा उम्मेदवारी दिएका नेताहरूले प्रदेश र जिल्ला तहका कार्यसमितिमा समेत उम्मेदवारी दिन पाउने छैनन्।
त्यसैगरी, पदेन महाधिवेशन प्रतिनिधि तथा भ्रातृ संघ र शुभेच्छुक संस्थाबाट प्रतिनिधित्व गर्ने पदेन प्रतिनिधिहरूले पनि महाधिवेशनमा केन्द्रीय कार्यसमितिको पदमा उम्मेदवारी दिन नपाउने व्यवस्था रहेको निर्वाचन समितिले जनाएको छ।
निर्वाचन समितिले महाधिवेशनको निर्वाचन प्रक्रियामा सहभागी हुने सबैलाई पार्टी विधानमा उल्लिखित प्रावधान पालना गर्न ध्यानाकर्षण गराएको छ।
तपाईको प्रतिक्रिया