गगन थापाको राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमितिमा पेश
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा पेस गरेका छन्।
कांग्रेसको बन्दसत्र सुरु हुनुअघि सोमबार खुलामञ्चमा बसेको केन्द्रीय कार्यसमिति बैठकमा सभापति थापाले प्रतिवेदन पेस गरेका हुन्।
प्रतिवेदनमा आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक दिशाबारे प्रस्ताव अघि सारिएको छ। विगतको राजनीतिक अभ्यासको आत्मसमीक्षादेखि सरकारलाई खबरदारी गर्ने नीति, निर्वाचनअघि गठबन्धन नगर्ने प्रतिबद्धता, पार्टी पुनर्संरचना, निजी क्षेत्रसँग सहकार्य तथा युवाको सहभागिता बढाउने विषय प्रतिवेदनमा समेटिएका छन्।
थापाले ‘समुन्नत नेपाल, सम्मानित नेपाली’को अवधारणालाई समेत आगामी राजनीतिक कार्यदिशाको महत्वपूर्ण आधारका रूपमा अघि सारेका छन्।
कांग्रेसले पछिल्ला दुई दशकमा आफ्नो मूल उद्देश्यभन्दा पद र सत्तालाई प्राथमिकता दिएको प्रतिवेदनमा स्वीकार गरिएको छ। गठबन्धन व्यवस्थापन, भागबण्डा, गुटबन्दी र लेनदेनमा आधारित राजनीतिले पार्टीको नैतिक धरातल कमजोर बनाएको उल्लेख गरिएको छ।
त्यस्तै, भ्रष्टाचार तथा अनियमिततामा आफ्नै पक्षका व्यक्तिलाई संरक्षण गर्ने प्रवृत्तिले सार्वजनिक संस्थाको स्वायत्तता कमजोर बनाएको भन्दै प्रतिवेदनमा त्यसको समेत आत्मसमीक्षा गरिएको छ।
युवापुस्तासँग पार्टीको दूरी बढेको र नागरिकका बदलिँदा अपेक्षालाई कांग्रेसले समयमै सम्बोधन गर्न नसकेको विषय पनि प्रतिवेदनमा उल्लेख छ। दोस्रो विशेष महाधिवेशनमार्फत जनतासँग क्षमायाचना गर्दै पार्टी सुधारको संकल्प गरिएको बताइएको छ।
महाधिवेशनको बन्दसत्रमा सभापति थापाको राजनीतिक प्रतिवेदनसँगै महामन्त्रीको सांगठनिक तथा कोषाध्यक्षको आर्थिक प्रतिवेदनसमेत प्रस्तुत हुने कार्यतालिका छ।
यसैबीच कांग्रेसको नयाँ नेतृत्व चयनका लागि सोमबारदेखि निर्वाचन प्रक्रिया सुरु हुँदैछ। केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार सोमबार साँझ ५ बजे मतदाता नामावली प्रकाशन गरिनेछ। साँझ ५ देखि साढे ६ बजेसम्म नामावलीमाथि दाबी–विरोधको समय तोकिएको छ भने राति साढे ८ बजे अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ।
उम्मेदवारी मनोनयन भने मंगलबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ। त्यसपछि साढे ४ बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ।
उम्मेदवारीमाथि दाबी–विरोधका लागि एक घण्टाको समय दिइनेछ भने साँझ ७ बजे उम्मेदवारको दोस्रो नामावली प्रकाशन गर्ने कार्यतालिका छ। उम्मेदवारी फिर्ता, अन्तिम नामावली प्रकाशन तथा प्रचारप्रसारका लागि असोज २१ गते समय छुट्याइएको छ।
तपाईको प्रतिक्रिया