कांग्रेस महाधिवेशन : पदाधिकारी थपिए, केन्द्रीय समितिमा कति सदस्य ?
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनले पार्टीको केन्द्रीय कार्यसमितिको संरचना विस्तार गर्ने निर्णय गरेको छ। महाधिवेशनबाट पदाधिकारीको संख्या बढाउने निर्णय भएसँगै केन्द्रीय कार्यसमितिको आकारसमेत बढ्ने भएको हो।
कांग्रेसका प्रवक्ता देवराज चालिसेले केन्द्रीय कार्यसमितिको बैठकबाट पदाधिकारी संख्या थप्ने निर्णय भएको जानकारी दिएका छन्।
पदाधिकारीको संख्या बढाउने निर्णय नेताहरूको व्यवस्थापनका लागि मात्रै गरिएको हो कि भन्ने प्रश्नमा चालिसेले त्यसलाई अस्वीकार गर्दै पार्टीको कार्यक्षेत्र विस्तारका रूपमा बुझ्न आग्रह गरे।
‘संख्या थपिएकोलाई नेता उत्पादनका रूपमा बुझ्नु हुँदैन,’ उनले भने, ‘यसलाई कार्यक्षेत्र विस्तार भएको रूपमा बुझ्नुपर्ने हुन्छ।’
यससँगै कांग्रेसको नयाँ केन्द्रीय कार्यसमितिमा सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्रीसहित केन्द्रीय सदस्यको संख्या कति हुने भन्ने विषयमा चासो बढेको छ।
महाधिवेशनमा पारित हुने विधान संशोधन तथा नयाँ संरचनाअनुसार कांग्रेसको केन्द्रीय कार्यसमितिको अन्तिम आकार निर्धारण हुनेछ। पदाधिकारी थपिएपछि पार्टीको सांगठनिक संरचना पहिलेको तुलनामा थप विस्तार हुने देखिएको छ।
महाधिवेशनको बन्दसत्रमा विधान संशोधनसम्बन्धी प्रस्तावमाथि छलफल तथा निर्णय हुने कार्यक्रम छ। त्यसपछि नयाँ केन्द्रीय कार्यसमितिको निर्वाचन प्रक्रिया अघि बढ्नेछ।
तपाईको प्रतिक्रिया