मंगलबार २० असोज २०८३
राजनीति

कांग्रेस महामन्त्रीमा नैनसिंह महरको दाबी, ‘निर्वाचन लडेरै जित्छु’

सोमबार असोज १९, २०८३/ Monday 10-05-26

काठमाडौँ । नेपाली कांग्रेसका नेता नैनसिंह महरले पार्टीको १५औँ महाधिवेशनबाट महामन्त्री पदमा निर्वाचन लड्ने तयारी कायमै रहेको बताएका छन्।

उनले आफू कुनै समूहको आग्रहमा नभई आफ्नै निर्णय र राजनीतिक योजनाअनुसार महामन्त्रीको उम्मेदवार बन्न लागेको बताएका छन्। महरका अनुसार उनले करिब तीन वर्षअघिदेखि नै महामन्त्रीमा उम्मेदवारी दिने तयारी गरेका हुन्।

महाधिवेशन प्रतिनिधिहरूबाट आफूले उत्साहजनक समर्थन पाइरहेको दाबी गर्दै उनले सर्वसम्मतभन्दा निर्वाचन प्रक्रियाबाटै महामन्त्री निर्वाचित हुन चाहेको बताए।

लोकतान्त्रिक पार्टीमा उम्मेदवारी दिन सबैलाई अधिकार रहेको भन्दै महरले आफू पनि निर्वाचनमार्फत प्रतिनिधिहरूको मतबाट निर्वाचित हुने विश्वास व्यक्त गरे।

उनले सहमतिका नाममा महामन्त्री पदको दाबीबाट पछि हट्ने सम्भावना नरहेको स्पष्ट पारे। कांग्रेसभित्र विभिन्न धारमा विभाजन देखिएको भन्दै उनले पार्टीलाई एकताबद्ध बनाउने उद्देश्यले आफूले महामन्त्रीमा उम्मेदवारी दिन लागेको बताए।

पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काको समर्थनमा आफू उम्मेदवार बन्न लागेको चर्चा गलत भएको उनको भनाइ छ। विगतमा उनीहरूसँग राजनीतिक निकटता भए पनि अहिले आफ्नो राजनीतिक यात्रा स्वतन्त्र ढंगले अघि बढिरहेको महरले बताएका छन्।

महामन्त्रीमा आफ्नो दाबीको आधारबारे उनले भुइँ तहका कांग्रेस कार्यकर्ताको भावना बुझेको, लामो समयदेखि पार्टी राजनीतिमा सक्रिय रहेको र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयमा समेत आफू जानकार रहेको बताए।

कांग्रेसलाई युवा पुस्ताको भावना र आवश्यकताअनुसार अघि बढाउँदै बलियो राष्ट्रिय शक्ति बनाउने आफ्नो लक्ष्य रहेको महरले बताए। विभिन्न धारमा विभाजित कांग्रेसलाई एक ठाउँमा ल्याउने सूत्र आफूसँग रहेको उनको दाबी छ।

कांग्रेस महामन्त्रीका लागि महरसहित विभिन्न नेताहरूले आकांक्षा व्यक्त गरेका छन्। महामन्त्री पदमा प्रदीप पौडेल, गुरु घिमिरे, डा. सुनिल शर्मा, महालक्ष्मी उपाध्याय ‘डिना’, अमरसिंह पुन, उदयशमशेर राणा, जीवन परियार र देवराज चालिसेलगायत नेताहरूको नाम चर्चामा छ।

 

तपाईको प्रतिक्रिया