विपद् व्यवस्थापनमा सरकार निरन्तर खटिरहेको छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले संघ, प्रदेश र स्थानीय तहबीचको आपसी समन्वयमा भदौ १० गतेदेखि विपद् व्यवस्थापनका काम निरन्तर अघि बढिरहेको बताएका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले सरकार कुनै पनि सम्झौता नगरी विपद् व्यवस्थापन तथा उद्धारका काममा निरन्तर सक्रिय रहेको बताए।
बैठकमा गण्डकी, बागमती, मधेश र कोशी प्रदेशका मुख्यमन्त्रीहरूको समेत सहभागिता थियो। मुख्यमन्त्रीहरूलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले उपलब्ध स्रोतसाधन र जनशक्तिको अधिकतम परिचालन गरी विपद् व्यवस्थापनका कामलाई यथाशीघ्र सम्पन्न गर्ने प्रयास भइरहेको बताए।
उनले भने, ‘हामीले उपलब्ध स्रोतसाधन र जनशक्ति परिचालन गरी चाँडोभन्दा चाँडो विपद् व्यवस्थापनको काम सक्दैछौँ। त्यसैले यस विषयलाई लिएर ढुक्क हुन आग्रह गर्दछु।’
प्रधानमन्त्री शाहले भोटेकोशी–त्रिशूली, गण्डकीलगायत विभिन्न क्षेत्रमा आएको बाढीपहिरोबाट भएको क्षतिको अध्ययनसँगै प्रभावित क्षेत्रमा व्यवस्थापन तथा पुनःस्थापनाका काम अघि बढिरहेको जानकारी दिए।
उनले विपद् जोखिम न्यूनीकरणका लागि पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी र सुदृढ बनाउने तयारी भइरहेको बताए। हिमपहिरोको जोखिम न्यूनीकरणका लागि पनि सरकारले आवश्यक काम अघि बढाइरहेको उनको भनाइ थियो।
प्रधानमन्त्री शाहले विपद्का समयमा आफ्नो ज्यान जोखिममा राखेर उद्धार तथा व्यवस्थापनमा खटिएका राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, स्वयंसेवक, राजनीतिक दलका प्रतिनिधि तथा अन्य सबैप्रति कृतज्ञता व्यक्त गरे।
तपाईको प्रतिक्रिया