मंगलबार २० असोज २०८३
राजनीति

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

सोमबार असोज १९, २०८३/ Monday 10-05-26

काठमाडौं । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका पाँच प्रमुख निर्णय सार्वजनिक गरेको छ। बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गरेका हुन्।

सरकारका अनुसार बैठकले स्वच्छ ऊर्जा प्रवर्द्धनदेखि कर्मचारी बढुवा तथा जेनजी आन्दोलनसँग सम्बन्धित मुद्दाबारे गठित समितिको प्रतिवेदन कार्यान्वयन प्रक्रियामा लैजानेसम्मका निर्णय गरेको छ।

मन्त्रिपरिषद्ले नर्वेजियन सरकारबाट नगरपालिकाहरूमा स्वच्छ ऊर्जा तथा ऊर्जा रूपान्तरण प्रवर्द्धनसम्बन्धी कार्यक्रम सञ्चालनका लागि प्राप्त हुने करिब १० करोड रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।

त्यस्तै, नेपाल इन्जिनियरिङ सेवा, गठन समूह तथा श्रेणी विभाजन र नियुक्ति दोस्रो संशोधन नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय भएको छ। बैठकले वैकल्पिक विकास वित्त परिचालन नियमावली, २०८३ पनि पारित गरेको छ।

जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोजन भएका मुद्दा फिर्ता गर्न मिल्ने वा नमिल्ने विषयमा अध्ययन गरी सिफारिस गर्न पूर्वन्यायाधीश बाबुराम रेग्मीको अध्यक्षतामा गठित समितिले बुझाएको प्रतिवेदन आवश्यक कार्यार्थका लागि गृह मन्त्रालयमा पठाउने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।

यसैगरी, सहसचिव पद्मकुमार मैनालीलाई नेपाल इन्जिनियरिङ सेवा समूहिकरणतर्फको सचिव पदमा बढुवा गर्ने निर्णय भएको छ। बढुवापछि उनलाई पूर्वाधार विकास मन्त्रालयमा पदस्थापन गरिएको छ।

तपाईको प्रतिक्रिया